काठमाण्डौ । छुट्टै इण्डेक्सको रुपमा ‘नेप्से–५०’ लञ्च गर्ने योजनामा रहेको नेपाल स्टक एक्सचेञ्ज योग्य कम्पनीको अभावका कारण विकल्पमा ‘नेप्से–३०’ इण्डेक्समा समेत केन्द्रीत भएको बुझिएको छ । 

केही कडा मापदण्ड बनाएर त्यसमा योग्य भएका कम्पनीहरुलाई मात्र ‘नेप्से–५०’ इण्डेक्समा सहभागी गराउने पूर्व योजनाअनुसार काम भइरहेको भए पनि संख्या अपुग भएमा ५० वटा कम्पनीको ठाउँमा ३० वटा मात्र राखेर ‘नेप्से–३०’ सञ्चालन गर्नुपर्ने विकल्पमा समेत छलफल हुन थालेको बुझिएको छ । 
 

‘नेप्से–५०’ सञ्चालनका लागि आवश्यक पूर्व तयारीलाई तीव्र पार्ने उद्देश्यले नेप्सेले आज(बिहीबार) छलफल डाकेको थियो । नेप्सेको आन्तरिक छलफलमा ‘नेप्से–५०’ वा यस्तै छुट्टै इण्डेक्समा काम गरिरहेका एक्सपर्टहरु समेत सहभागी थिए । 

सो छलफलमा केही एक्सपर्ट तथा नेप्सेका अधिकारीहरुले कडा मापदण्ड बनाएर ३० वटा मात्र राम्रा र बलिया कम्पनीको छुट्टै इण्डेक्सको रुपमा ‘नेप्से–३०’ तयार गर्ने हो कि भन्ने विषयमा समेत कुराकानी भएको थियो । 

‘अब नेप्से–५० र नेप्से–३० गरी दुवै विकल्पमा अगाडि बढ्ने सहमति भएको छ ।’ नेप्सेका एक अधिकारीले भने–‘नेप्सेले बनाएको फम्र्याट र वर्गीकरणका आधारहरुमा त्यस्ता कम्पनीको छनौट गरिन्छ । १४ वटा उपसमूहमा प्रत्येकबाट एउटा/एउटा कम्पनी त पर्छन नै, तर त्यसबाहेक अन्य कम्पनी पनि कुन उपसमूहबाट कस्तोलाई लिने भन्ने विषयमा अब गम्भीरतापूर्वक लाग्नुपर्ने देखिएको छ ।’ 

यही प्रयोजनका लागि नेप्सेले सूचीकृत कम्पनीहरुसँग आवश्यक सूचनाहरु माग गरेको छ । सूचीकरण विभागले मागेको सूचना दिन कतिपय कम्पनीले भने आनाकानी गरेका कारण समेत छुट्टै इण्डेक्स यथाशीघ्र लञ्च गर्ने तयारीमा केही बिलम्ब भएको स्रोत दाबी गर्छ । 

यो विषयमा आवश्यक तयारी थाल्ने र प्रारम्भिक रुपमा एउटा शक्तिशाली कमिटी नै बनाएर त्यसमार्फत आवश्यक डेटा सूचीकृत कम्पनीबाट माग्ने विषयमा समेत छलफल भएको छ । आवश्यक सबै तथ्याङ्क समयमै आयो र नेप्सेको सञ्चालक समितिले पनि यसलाई ‘ग्रिन सिग्नल’ दियो भने आउँदो बैशाख २ गते नयाँ इण्डेक्स लञ्च गर्न सकिने नेप्सेका अधिकारीहरु बताउँछन् ।