काठमाण्डौ । यातायात मजदुरले भोलिदेखि काठमाण्डौ उपत्यकाभित्र सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन्। 

यातायात मजदुरहरुले सोमबार साँझ विज्ञप्ति जारी गर्दै काठमाण्डौ उपत्यकामा गाडी नचलाउने घोषणा गरेका हुन्। नयाँ बसपार्कको ठेकेदार लोत्से कम्पनीले गुन्डागर्दी गरेकोले आफूहरु सडकमा उत्रिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजुर संघ र अखिल नेपाल यातायात मजदुर संघद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा उल्लेख छ।

यातायात मजदुरले आज बालाजु क्षेत्रमा सडकमा गाडी तेर्साएर अवरुद्ध गरेका छन्। उनीहरुलाई प्रहरीका दुईवटा भ्यान पनि जलाएका छन्। 

आन्दोलनका यातायात मजदुरमाथि हातपात समेत भएको विज्ञप्तिमा उल्लेख छ। ‘हाम्रा १० बुँदे माग थिए। त्यसलाई सार्वजनिक गर्ने कार्यक्रम थियो। तर, कम्पनीका महाप्रबन्धक सुनिल कुँवर, सदस्य पंकज मल्ल, िहमाल कुँवर लगायत अपरिचित करिब ३० जनाको समूहले हातपात गरेपछि हामीले आन्दोलन गर्यौँ’, विज्ञप्तिमा भनिएको छ। 

ट्राफिक प्रहरीले ऐनविपरीत जरिवाना असुल्ने, चालकहरुको लाइसेन्स निलम्बन गर्ने, प्रदूषणका नाममा रकम असुलीलगायत मनोमानी गरेको विज्ञप्तिमा आरोप लगाइएको छ। ‘हाम्रा माग तत्कालै सम्बोधन नभएसम्म आन्दोलन रोकिन्न’, विज्ञप्तिमा भनिएको छ।