काठमाण्डौ । आर्थिक मन्दीसँगै विभिन्न उत्पादनहरुमा उपभोक्ता तथा ग्राहकलाई ठगी गर्ने क्रम पनि मौलाएको छ । 

पछिल्लो समय नेपाली बजारमा बियर लगायतका मदिराजन्य पेय पदार्थ उत्पादनको होडबाजी चलेको छ । विभिन्न कम्पनीहरुले विभिन्न नारा र स्किमसहित आफ्ना उत्पादनहरु बजारमा पठाउने गरेका छन् । स्किमका नाममा सस्तोमा बियर तथा अन्इ पेय पदार्थ खरीद गर्नेहरुले सावधानी नअपनाउँदा स्वास्थ्यमा गम्भीर असर पर्नेसम्मको जोखिम बढेको छ । 

पछिल्लो समय नेपालका केही बियर कम्पनीहरुले धेरै उत्पादन गरेका, तर लामो समयसम्म पनि नबिकेर थन्किएका बियरहरु विभिन्न स्किम र अफरको नाममा बजारमा पठाउने गरेका पाइएको छ । 

यसको पछिल्लो उदाहरण बनेको छ बाह्रसिङ्गे ब्राण्डका बियर । यो ब्राण्डका बियर निकै ठूलो परिमाणमा उपभोग्य मिति सकिएको अवस्थामा फेला परेका हुन् । 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य मिति सकिएका करिब २ हजार १०० कार्टुन बियर बरामद गरेको हो । बजार अनुगमन टोलीले बजार निरीक्षण गर्ने क्रममा सुरक्षित उपभोग्य मिति सकिएका बाह्रसिङ्गे ब्राण्डका बियर नियन्त्रणमा लिएको विभागले जनाएको छ । 

बाह्रसिङ्गे ब्राण्डका बियर याक ब्रुअरी कम्पनीले उत्पादन गर्दै आएको छ । सो कम्पनीको धुम्बाराहीस्थित डिलर ‘क्लाइमेक्स ट्रेडिङ’को गोदाममा राखिएको र बजार पठाउने तयारी भइरहेको सूचनाका आधारमा उपभोग्य मिति सकिएका बियर फेला परेका हुन् । 

उपभोक्ताको स्वास्थ्यमा हुने जोखिमतर्फ ध्यान नदिई बजार पठाउने तयारीअघि गोदाममा राखिएको मिति सकिएको बियर बरामदसँगै विभागको टोलीले गोदाम शिलबन्दी गरिदिएको छ । 

६५० मिलि लिटर र ३३० मिलि लिटरका बोत्तलमा रहेका बियरको बजार मूल्य करिब ६० लाख भन्दा बढी पर्ने देखिएको विभागले जनाएको छ ।

‘विशेषगरी भोजभतेर तथा कतिपय रात्रिकालीन रेष्टुरेण्ट व्यवसायमा यस किसिमका उपभोग्य अवधि सकिएका (गुणस्तरहीन) बियर लगायत अन्य हल्का पेयपदार्थको कारोबार हुनसक्ने सूचनाका आधारमा त्यस किसिमका कारोबारस्थल र आपूर्तिकर्ता तथा डिलरहरूको बिक्री तथा गोदामकक्षको निरीक्षणलाई विभागले विशेष महत्वका साथ अगाडि बढाइरहेको छ,’ विभागले एक विज्ञप्तिमा भनेको छ । 

विभागले यस्ता कार्यक्रममा प्रयोग हुने गुणस्तरहीन पेय तथा अन्य उपभोग्य वस्तुको विषयमा चनाखो बन्न र कहीँ कतै यस्तो काम भएको पाइएमा खबर गर्न आह्वान समेत गरेको छ ।