काठमाण्डौ । राष्ट्रपति निर्वाचनका कारण राजनीतिक ध्रुवीकरण बढेसँगै उत्पन्न अन्यौलले सेयर बजारका लगानीकर्ताहरुको मनोबल निरन्तर कमजोर बनिरहेको छ । यसैको परिणामस्वरुप साताको पहिलो कारोबार दिनको सेयर बजार परिसूचक(नेप्से) २३.६० अंकले घटेर २०४६.८१ को विन्दूमा सीमित बन्न पुगेको छ । 

पछिल्ला दिनहरुमा वर्तमान सत्ता गठबन्धन भत्किने सम्भावना बढेको भन्दै समाचारहरु प्रकाशित भइरहेका छन् । राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्र र कांग्रेसबीच सहकार्य हुनसक्ने आशयका समाचारहरु आइरहँदा त्यसले वर्तमान सत्ता गठबन्धन भत्किने र अर्थमन्त्रीबाट विष्णु पौडेलको बहिर्गमन हुने खबरले लगानीकर्तामा निराशा बढाएको देखिन्छ । 

अर्थमन्त्रीको रुपमा विष्णु पौडेललाई सेयर बजारका लगानीकर्ताहरुले निरन्तरता दिइएको हेर्न चाहिरहेका छन् । तर, सत्ता समीकरण तथा राजनीतिक ध्रुवीकरण भने सेयर लगानीकर्ताको चाहनाभन्दा विपरीत गतिमा कुदिरहेको छ । यसबाट समेत लगानीकर्तामा अन्यौल र निराशा बढेको सहजै अनुमान गर्न सकिन्छ । 

राजनीतिक माहौल अनिश्चयको भूमरीमा फसेसँगै बजारमा बिक्री चाप पनि देखिएको छ । यहीकारण सोमबार नेप्से परिसूचक दोहोरो अंकले घट्दा अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम भने बढेको छ । यो दिन बजारमा १ अर्ब ९४ करोडभन्दा बढीको सेयर किनबेच भयो । 

यो दिन कारोबारमा आएका कुल कम्पनीमध्ये १७७ को मूल्य घटेको छ भने ३२ वटाको मूल्य बढ्दा ७ कम्पनीको सेयरमूल्य स्थिर देखिएको छ । 

यो दिन म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक झिनो अंकले बढे पनि बाँकी सबै उपसमूहको सूचक राताम्मे भए । 

बैंकिङ समूह १०.११ अंकले घटेको यो दिन विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स समूहमा क्रमशः ३८.८६ अंक, १४.०७ अंक र १०५.०६ अंकले घटे । 

यस्तै, जीवन बीमा समूहमा ८६.६६ अंक, निर्जीवनमा ६३.२५ अंक, उत्पादन तथा प्रशोधन समूहमा १६४.७२ अंक, इन्भेष्टमेन्ट समूहमा ०.५२ अंक, होटल र टुरिजममा २७.९७ अंक र अन्य समूहमा २२.०४ अंकको गिरावट आयो । 

बजार जानकार गोविन्दप्रसाद घिमिरे पनि राजनीतिक अन्यौलले लगानीकर्ताको मनोबल कमजोर हुँदा बजार निरन्तर घटिरहेको दाबी गर्छन् । अन्तरबैंक ब्याजदर ह्वात्तै बढ्नु, सेयर लोन पनि बजारमा नआउनु, वर्तमान सत्ता गठबन्धन ढल्ने डर लगायतका कारण बजार घटेको उनको भनाई छ । 

‘तर राष्ट्रपतिमा साझा उम्मेद्वार छान्ने कुरामा सत्ता गठबन्धनका दलहरु सफल हुन्छन् जस्तो मलाई लाग्छ । एमालेले सरकार छाडिहाल्छ भन्ने पनि लाग्दैन ।’ घिमिरेले बिजशालासँग भने–‘मलाई लाग्छ लगानी गर्ने उपयुक्त अवसर नै यही हो । धेरै स्क्रिप्टको मूल्य न्यून विन्दूमा आइसकेको छ । तरलता बढिरहेको छ, ब्याजदर घट्ने क्रममै छ । अत्तालिनुपर्ने अवस्था देखिन्न ।’ 

लगानीकर्ता दवाब समूहका महासचिव नयन बास्तोला बजार निरन्तर घट्नु पछाडिको प्रमुख कारण राजनीतिक अन्यौलता नै रहेको जिकिर गर्छन् । ‘नीतिगत हिसाबले ठूलो परिवर्तन भएको छैन । यसले पनि राजनीतिक अस्थिरताको डरले लगानीकर्ताको मनमा घर गरेको देखिन्छ ।’ बास्तोलाले भने–‘तर राष्टपति नपाए पनि एमालेले सरकार छाड्ला जस्तो मलाई लाग्दैन । अहिले लगानीकर्ता डराउनुपर्ने अवस्था देखिन्न ।’ 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन हिमालयन डिस्टीलरीले सबैभन्दा धेरै २० करोड ८२ लाख बढीको कारोबार गर्यो । यो कम्पनीको दोश्रो त्रैमासको निराशाजनक वित्तीय विवरणको प्रभावले मूल्य निरन्तर घटिरहँदा कारोबार बढ्नुले सेयर फालेर एक्जिट हुनेहरु बढेको देखाउँछ । 

यो दिन साल्ट ट्रेडिङ कर्पोरेसनले ११ करोड ४८ लाख बढीको कारोबार गर्यो भने जीवन विकास लघुवित्तले ६ करोड ५५ लाख, एनआइसी एशिया बैंकले ५ करोड ५५ लाख र सानिमा बैंकले ४ करोड ६५ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा राप्ति हाइड्रोको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । दोर्दी हाइड्रोपावरको सेयरमूल्य ४.१७ प्रतिशतले बढेको यो दिन एनएमबी हाइब्री फण्ड एल १ का इकाईधनीले अघिल्लो दिनको तुलनामा ४ प्रतिशत हाराहारीले सम्पत्ति जोडे । 

बजारले ३७ प्रतिशत बढी लाभांश घोषणा गरेको जीवन विकास लघुवित्तलाई इग्नोर गरेको देखियो । यति लाभांश घोषणा हुँदा पनि आज सबैभन्दा धेरै गुमाउनेको जीवन विकास लघुवित्त पर्यो । यो कम्पनीको सेयरमूल्य ९.१५ प्रतिशतले घट्न पुग्यो । 

उपकार लघुवित्तको सेयरमूल्य पनि ७.४२ प्रतिशतले घट्न पुग्यो ।