– प्रकाश न्यौपाने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बुधबार ल्याएको लघुवित्त संस्थासँग सम्बन्धित एकीकृत निर्देशनले आज सेयर बजारमा ठूलै हलचल ल्याएको छ। 

आज कारोबारमा आएका स्वाभिमान लघुवित्तबाहेक सबै लघुवित्तको सेयरभाउमा पहिरो खसेको छ। आज ४४ वटा लघुवित्तको सेयरभाउमा नेगेटिभ सर्किट लागेको छ। बजार परिसूचक झन्डै ५८ अंकले घट्दा लघुवित्त समूह ४१२.०२ अंक (९.५४प्रतिशत)ले ओरालो लागेको छ। 

राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको लाभांश वितरणमा कडाइ गर्नुका साथै कर्जा प्रवाह नियन्त्रणमुखी व्यवस्था ल्याएको छ। लाभांश वितरणमा गरेको कडाइका कारण सेयर बजारका आमलगानीकर्ता त्रसित हुँदा आज लघुवित्त समूहमा बिक्रीचाप देखियो। जसका कारण लघुवित्तका लगानीकर्ताहरुले सम्पत्तिमा भारी क्षति पुग्यो। 

लघुवित्त क्षेत्र देखिएका समस्या समाधानका नाममा राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई कारबाही गर्नुको सट्टा सेयर बजार प्रभावित गर्ने गरी नीति ल्याएकोमा लगानीकर्ताका नेताहरुले चर्को विरोध गरेका छन्। 

नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार राष्ट्र बैंकले गलत समयमा लघुवित्त संस्थासम्बन्धी नीति ल्याएको बताउँछन्। ‘एक त लाभांश घोषणा गरिरहेको समयमा राष्ट्र बैंकले नयाँ नीति ल्याउन हुँदैन थियो’, उनले भने, ‘अर्को कुरा राष्ट्र बैंकले कुनै पनि संस्थालाई कति लाभांश दिने भनेर व्यवस्था गर्ने होइन। किनकि राष्ट्र बैंकको वित्तीय अनुशासनमा रहेर व्यवसाय सञ्चालक गर्ने संस्थाले आफूले आर्जन गरेको मुनाफाबाट सेयरधनीहरुलाई कति लाभांश दिने भन्ने उसमै निहित रहन्छ।’

राष्ट्र बैंकको पछिल्लो सर्कुलरले सेयर लगानीकर्ताको सम्पत्ति खरानी भएको भन्दै रौनियारले आक्रोश पोखे। ‘सीमित लघुवित्त संस्थाहरुले गलत काम गरेको भन्दैमा सबैलाई प्रभावित गर्ने गरी नीति ल्याउन हुँदैन थियो’, उनले भने। 

लघुवित्त क्षेत्रमा देखिएको समस्याको मुख्य दोषी राष्ट्र बैंक नै रहेको रौनियारको भनाइ छ। ‘राष्ट्र बैंकले बेला–बेलामा अनुगमन तथा निरीक्षण गरेको भए आज लघुवित्त क्षेत्रमा समस्या देखिने थिएन’, उनले भने, ‘तर, समस्या देखिएपछि गलत गर्ने संस्थालाई जोगाउन नीति ल्याउँदा लाखौँ सेयर लगानीकर्ताको सम्पत्तिमा क्षति पुगेको छ।’ 

रौनियारले लघुवित्त संस्थालाई लाइसेन्स दिनुअगावै नीति–नियम बनाउनुपर्नेमा राष्ट्र बैंकले समस्या देखिएपछि नीति ल्याउँदा जोखिम झनै बढेको बताए। ‘खेल सुरु हुनुअगावै नियम बनाउँदा खेल अनुशासित र मर्यादित हुन्छ’, उनले भने, ‘तर, खेल चलिरहेकै बेला फेरि नयाँ नियम बनाउँदा पूरा खेल नै भद्रगोल हुन्छ। राष्ट्र बैंकको हिजोको निर्देशनले पनि त्यस्तै वातावरण सिर्जना गरेको छ।’

पुँजीबजार दबाब समूहका महासचिव नयन बास्तोला राष्ट्र बैंकका गभर्नर र कर्मचारीहरुले सेयर बजारलाई पटक–पटक आफूअनुकूल चलाउने गरेको आरोप लगाए। ‘बिना अध्ययन र छलफल नीति–नियम ल्याएर लगानीकर्ताको सम्पत्ति जोखिममा पार्ने काम राष्ट्र बैंकबाट भएको छ’, उनले भने।

केही लघुवित्तले नियम मिचेकोमा तिनलाई कारबाही गर्नुको सट्टा सबै लघुवित्तलाई नियन्त्रण गर्ने खालको नीति ल्याउँदा त्यसको असर सेयर बजारमा देखिएको बास्तोलाको भनाइ छ। ‘सुरुमा लाइसेन्स दिने र सञ्चालन गर्ने दुई थरिलाई फाइदा पुग्ने नियम बनाउने र संस्था डुब्ने अवस्था आएपछि बचाउनका लागि फेरि अर्को नियम ल्याउँदा सेयर बजार प्रभावित भएको छ’, उनले भने, ‘किनकि लघुवित्त संस्थालाई विश्वास गरेर सेयरमा लगानी गरेकाहरुलाई यस्ताहरु नियमले सुकुमबासी बन्ने खतरा बढेको छ।’