काठमाण्डौ । नेकपा एमाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको छ। सोमबार बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। 

सरकार गठनका क्रममा गत पुस १० गते भएको सहमतिविपरीत माओवादी केन्द्रले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन निर्णय गरेसँगै सत्ता गठबन्धन भत्किसकेको थियो। एमालेले भने आफू पुस १० गतेको सहमति कार्यान्वयनको पक्षमा रहेको भन्दै फागुन २५ गते राष्ट्रपति निर्वाचनसम्म पर्खिने निर्णय गरेको थियो।

यसबीच प्रधानमन्त्री दाहालले परराष्ट्रमन्त्री विमला राई पौडेललाई जेनेभा भ्रमण जान रोकेपछि आज बसेको एमालेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै सरकारबाट बाहिरिने निर्णय गरेको हो। 

एमालेबाट बनेका मन्त्रीहरुप्रति प्रधानमन्त्री दाहालले दिएको व्यहावरबाट फागुन २५ अघि नै सरकारबाट बाहिरिने निर्णय गर्नुपरेको एमालेले जनाएको छ। 

प्रधानमन्त्री दाहालले मन्त्रिपरिषदको निर्णयको आधारमा जेनेभा जान लागेकी परराष्ट्रमन्त्रीलाई अन्तिम क्षणमा बिनाकारण नजान निर्देशन दिएको एमाले रुष्ट बनेको हो। एमालेलाई सरकार छाड्न दबाब दिने खाले गतिविधि प्रधानमन्त्री दाहालबाटै भएको एमालेको दाबी छ।