– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । कुनै समय करिब ३२०० को विन्दुमा पुगेको सेयर बजार दुईपटक १८०० विन्दु छोएपछि हाल २००० विन्दुआसपास चलिरहेको छ। 

गत मंसिर ४ गतेको संघीय चुनावपछि बनेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी बाहिरिसकेका छन्। दुई महिनामै गठबन्धन फेरिएपछि धेरैको मनमा अहिले चिसो पस्नु स्वाभाविकै नै रहेको बजार जानकारहरु बताउँछन्। 

बजार जानकार मुक्ति अर्यालले अर्थमन्त्रीबाट विष्णु पौडेल बाहिरिएपछि पनि बजार ठूलो प्रभाव नपर्ने भन्ने कुरा विगत दुई दिनको कारोबारबाट पुष्टि भएको बताए। ‘अब अर्थमन्त्रीमा कांग्रेसबाट कोही आउन सक्छन्, त्यसैले बजारमा तात्विक प्रभाव पार्दैन’, उनले भने, ‘तर राष्ट्र बैंकको अस्थिर नीतिले भने बजारलाई प्रभाव पारेको छ।’

अर्यालले खराब कर्जा बढ्दैमा बैंकहरुलाई कर्जा प्रवाह गर्न रोक्नु गलत रहेको बताए। ‘बैंकहरुको लगानी बढ्दै जाँदा खराब कर्जा पनि बढ्छ तर त्यसले राष्ट्रको अम्दानीमा योगदान गर्छ’, उनले भने, ‘तर, खराब कर्जा बढेको भन्दै बैंक तथा लघुवित्तलाई कस्नु उपयुक्त होइन।’ 

अर्यालले अर्थतन्त्र बुझेको व्यक्ति अर्थमन्त्रीमा आउनुपर्ने अहिलेको आवश्यकता रहेको पनि औँल्याए। 

अर्का बजार जानकार सूर्यनारायण पौडेलले तरल राजनीतिक अवस्थामा बजार तलमाथि हुनु स्वाभाविकै रहेको बताए। ‘तर अहिलेको अवस्था भनेको बजारबाट भाग्ने बेला भने होइन’, उनले भने, ‘बजार केही अंक तल माथि हुन सक्छ। राम्रा कम्पनीमा केही समय होल्ड गर्ने हिसाबले खरिद गर्दा उपयुक्त हुन्छ।’

अहिले बनेको कांग्रेस र माओवादी केन्द्रको ८ दलीय गठबन्धन आगामी चुनावसम्म सँगै जान सक्ने पौडेल बताउँछन्। ‘रामचन्द्र पौडेल राष्ट्रपति हुन सक्ने सम्भावना छ’, उनले भने। 

भावी अर्थमन्त्रीका रुपमा भने कांग्रेस सभापति शेरबहादुर देउवाको विश्वासिला पात्र प्रकाशशरण महत नै आउने सक्ने पनि पौडेलको विश्लेषण छ। ‘उनी आए बजारका लागि राम्रै हुन्छ’, उनले भने, ‘किनकि उनी अर्थतन्त्र बुझेकै व्यक्ति हुन्। त्यसैले अर्थतन्त्र सुधार भएमा बजारमा पनि सुधार आउँछ।’ 

पौडेलको विचारमा भुक्तानी सन्तुलन मिलाउन सक्ने डायनामिक अर्थमन्त्री अहिलेको आवश्यक हो। 

बजार जानकार गोविन्दप्रसाद घिमिरेले देशको वर्तमान आर्थिक अवस्था हेर्दा डायनामिकमात्रै नभएर विदेशी दातृ निकायसँग राम्रो सम्बन्ध भएको व्यक्ति अर्थमन्त्रीमा आउनु बताए। ‘अहिले देशमा डलरको आवश्यक छ। मुख्यगरी डलर आउने भनेको पर्यटन र दातृ निकायबाटै हो’, उनले भने, ‘त्यसका लागि विदेशी सहायता पनि ल्याउन सक्ने व्यक्तिलाई अर्थमन्त्री बनाइनुपर्छ।’ 

घिमिरेले बजार अझै केही समय साइडवेजमै चल्न सक्ने बताए। ‘अहिले नै बजार धेरै तल–माथि नहोला तर बजारले विस्तारै अवश्य लय लिन्छ।’