काठमणडौ । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन्। योसँगै उनी गणतन्त्र नेपालका तेस्रो राष्ट्रपति बनेका छन्। 

संघीय संसदमा बिहीबार भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन्। उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका छन्।

अर्का उम्मेदवार एमालेका सुवासचन्द्र नेम्बाङले १५ हजार ५१८ मत भार पाए। उनले ९६ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाएका छन्। आधिकारिक नतिजा सार्वजनिक हुन बाँकी छ। 

राष्ट्रपति निर्वाचनमा संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ।

पौडेलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको मत पाएका थिए।

संघीय संसद र प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रपति निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८३१ जनाले मतदान गरेका थिए।
संघीय संसदका ३३४ जना सदस्यमध्ये राप्रपाका १४, नेपाल मजदुर किसान पार्टीका १ जनाले मतदानमा सहभागिता जनाएनन्। नेपाली कांग्रेसका चन्द्र भण्डारी, नेकपा माओवादी केन्द्रका वर्षमान पुन उपचारका क्रममा मुलुक बाहिर रहेकाले मतदानमा सहभागी भएनन्। 

यसैगरी कांग्रेसबाट निर्वाचित भई भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका टेकबहादुर गुरुङ निलम्बित अवस्थामा रहेकाले मतदान गर्न पाएनन्। अर्का फौजदारी मुद्दाका अभियुक्त एमालेका लक्ष्मी महतो कोइरीले पनि राष्ट्रपति निर्वाचनमा मतदान गर्न आएनन्।