काठमाण्डौ । बिपिडब्लु लघुवित्तको वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गरेको आईपीओ भरेका विदेशमा रहेका श्रमिकहरुको आवेदन रद्द भएको छ। 

संस्थाले आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने १०० अंकित दरका कुल ९७ हजार कित्ता आईपीओ जारी गरेको थियो। त्यस कोटा प्रणालीअन्तर्गत १० प्रतिशलते हुन आउने ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई यसअघि नै बिक्री गरिसकिएको थियो। 

गत फागुन १८ गतेदेखि फागुन २३ गतेसम्म भने १ हजार ५०० कित्ता सेयर कर्मचारीलाई र ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित राखी बाँकी रहेको ८० हजार ९५० कित्ता सेयरमा सर्वसाधारणका लागि खुलाइएको थियो। तर, सर्वसाधारण खुलाइएको आईपीओमा पनि भरेका कारण विदेशमा रहेका श्रमिकबाट परेको ३७० आवेदन रद्द गरिएको धितोपत्र बिक्री प्रबन्ध मेगा क्यापिटल मार्केट्सले जनाएको छ। ती आवेदकबाट ४ हजार ९२० कित्ता सेयर माग भएको थियो।

विदेशमा रहेका श्रमिकबाट दोहोरो आवेदन परेकोले रद्द गर्नुपरेको क्यापिटलको भनाइ छ। 

धितोपत्र दर्ता तथा निष्कासन निमावली, २०७३ मा संशोधन गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)ले विदेशमा रहेका श्रमिकलाई सर्वसाधारणका लागि जारी हुने आईपीओमा १० प्रतिशत कोटा छुट्याउने व्यवस्था गरेको छ। तर, उक्त कोटाअन्तर्गत आईपीओ भर्ने वैदेशिक रोजगारीमा रहेका नेपालीले फेरि सर्वसाधारणका लागि हुने आईपीओ भने भर्न नपाउने व्यवस्था गरिएको छ। 

बिपिडब्लु लघुवित्तको आईपीओ आज बाँडफाँड गरिएको थियो। यो आईपीओमा १४ लाख ५९ हजार ७८४ आवेदकले कुल १ करोड ५७ लाख ३५ हजार ८१० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए। जसमा १४ लाख ५८ हजार २७८ आवेदकबाट परेको १ करोड ५७ लाख १६ हजार ७६० कित्ता सेयर खरिद आवेदन सदर भएको थियो भने १ हजार ५०६ आवेदकबाट परेको १९ हजार ५० कित्ता सेयर खरिद आवेदन रद्द भएको छ। 

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको थियो। जसमा भाग्यमानी ८ हजार ९५ जनाले मात्र १० कित्ताका दरले सेयर पाएका छन्। सदर आवेदकमध्ये १४ लाख ५० हजार १८३ को हात खाली भएको छ।