काठमाण्डौ । अर्थतन्त्रका विषयहरुमा हुने सार्वजनिक बहस तथा पैरवीहरुमा खासै सहभागी नहुने नेपाली कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले अर्थमन्त्रीमा बाजी मारेका छन्।
तत्कालीन कांग्रेस प्रजातान्त्रिक जन्माउँदा शेरबहादुर देउवालाई साथ दिएका डा. महतले त्यसपछि भने राजनीतिमा उनकै अनुकम्पाका कारण पछाडि फर्किएर हेर्नु परेको छैन। कांग्रेस सभापति देउवाको सद्भाव र विश्वास आर्जन गरेका उनले पार्टीका उपसभापति पूर्णबहादुर खड्काको चाहनालाई समेत पन्छाएर अर्थमन्त्रीका रुपमा पहिलोपटक सरकारमा सहभागी भएका हुन्।
यसअघि परराष्ट्रमन्त्री र ऊर्जामन्त्री भइसकेका महतले आफूलाई अर्थशास्त्रीका रुपमा चिनाउने गरेका छन्। कांग्रेसकै नेता तथा लामो समयसम्म अर्थमन्त्रीका रुपमा काम गरेका डा. रामशरण महत उनका दाजु हुन्। तर, प्रकाशशरणको भूमिका तथा क्षमता दाजु डा. रामशरणको जस्तो हालसम्म प्रस्फुटित भएको छैन। यसकारण समेत उनको क्षमतालाई लिएर कांग्रेसभित्रकै नेताहरुले अनेक आशंका र टीकाटिप्पणी गरिरहेका छन्।
महतलाई देउवाले अर्थमन्त्री बनाएपछि यसले कांग्रेस पार्टीभित्रै असन्तोषहरुको जन्म गराएको छ। धेरैले देउवाको रोजाइप्रति प्रश्न उठाएका छन्। कतिपय कांग्रेस नेताहरु डा. महतलाई छिटो आवेशमा आउने स्वभाव भएको नेताको रुपमा चिन्दछन्। डा. महतले वि.सं २०६६ सालमा संविधानसभाको शासकीयस्वरूप निर्धारण समितिमा एउटा निर्णय नै च्यातेको घटना निकै चर्चित बनेको थियो। सो प्रकरणमा समितिले उनीसँग स्पष्टीकरण नै सोध्नुपरेको थियो।
त्यसपछि पनि यदाकदा उनी विवादमा आइरहने नेताको रुपमा चिन्छिन्। दुई वर्षअघि एउटा सार्वजनिक कार्यक्रममा कांग्रेस सभापति देउवाले महतलाई निकै खराब शैलीमा गाली गरेको भिडियो भाइरल भएको थियो। देउवाले गाली गर्दासमेत उनी भने मौन देखिएको सो भिडियोपछि धेरैले उनलाई देउवाको खास मान्छे भन्ने गर्थे।
डा. महतको हाल कांग्रेसको निर्णय तहमा प्रभूत्व जमाउँदै आएकी नेतृ तथा देउवापत्नी आरजु राणासँग समेत निकै राम्रो सम्बन्ध रहेको छ। कतिपयले त आरजुकै जोडबलमा डा. महत अर्थमन्त्री बनेका दाबीसमेत गर्छन्।
राजीनितक निकटता र सम्बन्धमा देउवा परिवारसँग विशेष कनेक्सन रहेका डा. महत पढाइको हिसाबले भने अर्थशास्त्री नै हुन्। उनले विदेशको प्रतिष्ठित विश्वविद्यालयबाट अर्थशास्त्रमा पीएचडी गरेका छन्। उनले आफूलाई हाल देशमा देखिएको आर्थिक समस्या तथा संकटको मोचकको रुपमा दाबी गर्ने गरेका छन्।
कक्षा ७ मा अध्ययनरत रहँदा नै नेपाल विद्यार्थी संघको आदर्शबाट प्रेरित भएर राजनीतिमा लागेका महतले २०३६ सालको विद्यार्थी आन्दोलन र २०३७ सालको जनमत संग्रहमा अग्रमोर्चामा रहेर काम गरेका थिए। उनले २०४२ सालको सत्याग्रहमा सक्रिय भूमिका खेलेका थिए।। त्यसबेला उनी नेपाल विद्यार्थी संघको महासचिव थिए।
कांग्रेसको नेतृत्वमा सुरु भएको २०४६ सालको जनआन्दोलनमा डा. महतले एक्सन कमिटीमा रहेर काम गरेका थिए। २०५५–५६ देखि कांग्रेसको केन्द्रीय आर्थिक नीति निर्माण समितिमा रहेर काम गर्ने मौका पाएका डा. महत २०५९ देखि निरन्तर कांग्रेसको केन्द्रीय सदस्य रहँदै आएका छन्।
नेता महतले २०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन र २०७९ को मंसिरमा सम्पन्न प्रतिनिधिसभा एवं प्रदेश सभा निर्वाचनमा पार्टीको केन्द्रीय प्रचारप्रसार समितिको संयोजकको भूमिका निभाएका थिए।
२०६३ सालको अन्तरिम व्यवस्थापिकाको सदस्यका रुपमा व्यवस्थापिकाको यात्रा आरम्भ गरेका डा महतले पहिलो संविधानसभा २०६४ देखि २०६९ र दोस्रो संविधानसभा २०७० देखि २०७४ सम्म विधायकको भूमिका निर्वाह गरे।
नेपालमा माओवादी विद्रोह उत्कर्षमा रहेको बेलामा सरकारले २०५६ सालमा गठन गरेको माओवादी समस्या समाधान समितिको सदस्य सचिवको जिम्मेवारीसमेत निर्वाह गरेका डा. महतलाई प्रधानमन्त्रीले २०५८ देखि २०५९ सम्म सल्लाहकार नियुक्त गरी आफ्नो योग्यता र क्षमताअनुरुप देश र जनताको भलाइमा काम गर्न सघाउने अवसर दिएका थिए।
महतलाई सरकारले २०५८ चैत्रदेखि २०५९ असोजसम्म राष्ट्रि«य योजना आयोगको सदस्यमा नियुक्त पनि गरेको थियो। उनलाई २०६१ जेठदेखि २०६१ माघ १९ सम्म परराष्ट्र मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पनि प्राप्त भएको थियो।
२०६३ देखि २०६४सम्म माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन गठित राष्ट्रिय शान्ति समितिका सदस्य रहेर काम गरेपछि महतलाई २०६४ साउनदेखि २०६५ जेठसम्म विभिन्न विद्रोही समूहसँग वार्ता गर्न गठित सरकारी वार्ता समितिको सदस्यको जिम्मेवारी पनि सुम्पिएको थियो।
२०६६ देखि २०६७ सम्म (सन २००९ देखि २०११ सम्म) महत ऊर्जामन्त्री बनेका थिए। ऊर्जा क्षेत्रको जिम्मेवारी पाएको बेलामा नै अहिले राष्ट्रिय गौरवको रुपमा रहेको माथिल्लो तामाकोशी आयोजना स्वदेशी पुँजीबाट निर्माण गर्ने निर्णय भएको थियो। भूकम्प, नाकाबन्दी, बाढीपहिरो र अन्य अवरोधका कारण ढिलो भए पनि अहिले आयोजनाको निर्माण सम्पन्न भएको छ।
सोही अवधिमा नै नेपाल र भारतबीचमा अन्तरदेशीय प्रशारण लाइन निर्माण गर्ने निर्णय भएको थियो। ढल्केवार–मुजफ्पुर ४०० केभी प्रशारण लाइनको निर्माणले नेपालको लोडसेडिङ अन्त्य गरी सबै नेपालीलाई उज्यालोतिर लम्किन प्रेरित गरेको थियो।
नेकपा माओवादी र नेपाली कांग्रेसको संयुक्त सरकार बनेको बेला २०७३ देखि २०७४ सम्म डा. महतले परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पुनः पाएका थिए। यो समय नेपालको तराईमा भएको आन्दोलनले भारतले नेपालमा नाकाबन्दी गरेर नेपाल–भारत सम्बन्ध निकै तल्लो स्तरमा पुगेको अवस्था थियो। पूर्ववर्ती सरकारको पालामा सम्बन्ध सुधार हुन नसकेकोले भारतसँगको सम्बन्ध सौहाद्र बनाएर नेपाली जनजीवन सहज बनाउनुपर्ने आवश्यकतालाई मनन गर्दै डा. महतले तीनपटक भारतको भ्रमण गरेका थिए। सम्बन्ध सामान्यीकरण भयो। बिग्रिएको सम्बन्ध सुधारियो।
यही समयमा नेपालले गण्डक सम्झौताअन्तर्गत पाउनुपर्ने सुविधा नपाएको विषय उठाएर त्यो दिन भारतलाई प्रतिबद्ध बनाउने काम भयो। भारतसँगको दक्षिणी सीमामा हुने बाढी र डुबानको संयुक्त निरीक्षण गरी समाधान खोज्ने सहमति भयो। महाकाली सिँचाइको डीपीआर टुंग्याउने काम भयो। हरेक दुई वर्षमा संयुक्त संयन्त्रको बैठक बस्ने सहमति कायम भयो।
यही कार्यकालमा चीनसँगको सम्बन्धलाई पनि सन्तुलित राख्ने काम भयो। चीन सरकारले प्रस्ताव गरेको बेल्ट एन्ड रोड इनिसिएटिभ(बीआरआई)लाई नेपालको हितअनुकूल हुनेगरी कार्यान्वयनमा ल्याउने संझौतामा हस्ताक्षर सम्पन्न भएको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago