– प्रकाश न्यौपाने

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल पुनर्गठन गरेसँगै मुलुकले नयाँ अर्थमन्त्री पाएको छ। नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महत अर्थमन्त्रीमा नियुक्त भएका छन्। 

अर्थशास्त्रमा पीएचडी गरेका महत अर्थमन्त्री भएसँगै लामो समयदेखि शिथिल बनेको अर्थतन्त्रले गति लिनेमा सबै क्षेत्र आशावादी बनेका छन्। विगतमा विभिन्न मन्त्रालयको अनुभव बटुलेका डा महतले अर्थतन्त्र सुधारका लागि ठोस कदम चाल्नेमा उनीहरु ढुक्क छन्।

विशेषगरी पुँजीबजारका लगानीकर्ताहरु लामो समयदेखि अर्थमन्त्रीको प्रतीक्षामा थिए। यसअघि पुस १० गते प्रचण्ड प्रधानमन्त्री बन्दा अर्थ मन्त्रालय सम्हालेका विष्णु पौडेलले आशा गरेअनुरुप काम गर्न नसक्दा लगानीकर्ताहरु निराश बनेका थिए। यसपटक भने अर्थतन्त्र बुझेका डा महत अर्थमन्त्री बनेसँगै लगानीकर्तामा पुँजीबजारमा अब सुधार हुने आशा पलाएको देखिन्छ।

नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार अहिले मुख्यगरी तरलता अभाव र महँगो ब्याजदरकै कारण पुँजीबजार प्रभावित भएको बताउँछन्। ‘सरकारको नयाँ अर्थतमन्त्रीमा अर्थतन्त्र राम्ररी बुझेका महत नियुक्त भएका छन्’, उनले भने, ‘त्यसैले उनले अब अर्थतन्त्र उकास्न र पुँजीबजार सुधारका लागि बुँदागत योजना बनाएर अगाडि बढ्नेमा लगानीकर्ताहरु आशावादी छन्।’

राष्ट्र बैंकको गलत नीतिले अहिले पुँजीबजारमात्रै नभएर सम्पूर्ण उद्योगधन्दा चौपट भएको रौनियार बताउँछन्। ‘अर्थमन्त्री महतले यिनै कुरालाई ध्यानमा राखेर अर्थतन्त्र सुधारका लागि काम गर्नेछन् भन्ने आमलगानीकर्ताको अपेक्षा छ’, उनले भने, ‘त्यसैले अर्थमन्त्री महतले तत्काल अर्थतन्त्र सुधारका केही कदम चालेमा लगानीकर्ताहरुको मनोबल पनि बढ्नेछ।’

महँगो ब्याजदरलाई घटाउन पनि अर्थमन्त्री महतले तत्काल पहल गर्नुपर्ने रौनियारको भनाइ छ। ‘विगतमा ८ प्रतिशतमा लिएको कर्जाको ब्याजदर अहिले १६–१७ प्रतिशतसम्म पुग्दा पनि राष्ट्र बैंक टुलुटुल हेरेर बसेको छ’, उनले भने, ‘त्यसैले अर्थमन्त्री महतले तत्कालै कर्जाको ब्याजदर एकल विन्दुमा झार्न पहल गर्नुपर्छ।’

यसैगरी रौनियारले सेयर धितो कर्जामा लगाइएको १२ करोड रुपैयाँ क्याप हटाउन र जोखिम भारित औसत दर १५० प्रतिशतबाट घटाएर पहिलेकै अवस्थामा ल्याउन अर्थमन्त्रीले पहल गर्नुपर्ने बताए। ‘यी दुई काम तत्काल भएमा लगानीकर्ताको मनोबल बढ्ने र पुँजीबजार पनि आफ्नो लयमा फर्किन्छ’, उनले भने, ‘पुँजीबजारमा सुधार भएमा मात्रै सम्पूर्ण अर्थतन्त्र चलायमान हुनेछ।’

अर्थशास्त्री एवं पुँजीबजारलाई नजिकबाट नियाल्दै आएका मुक्तिबहादुर खत्री अर्थतन्त्र बुझेका महत अर्थमन्त्री भएर आउनुलाई सकारात्मक रुपमा लिनुपर्ने बताउँछन्। ‘उनी लामो समयदेखि राजनीतिक र आर्थिक अभ्यास राखेका व्यक्ति हुन्’, उनले भने, ‘त्यसैले उनले अर्थतन्त्र सुधारका कामहरु गर्नेछन् भन्ने अपेक्षा राख्न सकिन्छ।’

नवनियुक्त अर्थमन्त्री महतले अर्थतन्त्र सुधारका लागि बढ्दै गएको आयातलाई कम गर्दै लाने नीति लिर्नुपर्ने खत्री बताउँछन्। ‘आन्तरिक उत्पादन बढाउने खाले नीति अर्थमन्त्रीले ल्याउनुपर्छ’, उनले भने, ‘बढ्दै गएको विलाशिता वस्तुको प्रयोगलाई निरुत्साहित गर्ने खालको व्यवस्था गर्न आवश्यक छ, त्यसमा पनि अर्थमन्त्रीको ध्यान जानुपर्छ।’

खत्रीले देशभित्रै उत्पादित बिजुलीको खपत बढाउँदै पेट्रोलियम पदार्थलाई प्रतिस्थापन गर्ने नीति पनि अर्थमन्त्रीले ल्याउनुपर्ने बताए। ‘नेपालजस्तो सानो मुलुकमा थुप्रै मन्त्रालय चाहिँदैन’, उनले भने, ‘त्यस्तै प्रशासनिक खर्च पनि घटाउनुपर्ने देखिन्छ। पुँजीगत बजेट समयमै गुणस्तरीय काम गरेर सक्नुपर्छ।’
नवनियुक्त अर्थमन्त्री र गभर्नरबीच तालमेल हुन पनि आवश्यक रहेको खत्रीले बताए। ‘अहिले राष्ट्र बैंककै गलत नीतिले अर्थतन्त्र शिथिल भएको छ’, उनले भने, ‘त्यसैले अर्थतन्त्र बुझेका व्यक्ति अर्थमन्त्री भएका छन्। उनले नीतिगत सुधारका लागि पहल गर्नेमा सबैजना आशावादी छन्।’

यिनै सुधारका कार्यहरु भएमा अर्थतन्त्र पनि मजबुत हुने र पुँजीबजार पनि सुधार आउने खत्री बताउँछन्। ‘पुँजीबजार सुधार र विकासका लागि लगानीकर्ताहरुले विगत उठाएका ५८ बुँदे मागहरुमा कार्यान्वयन हुन बाँकी कामहरु पूरा गर्नुपर्छ’, उनले भने, ‘यसमा पनि अर्थमन्त्रीको ध्यान जान जरुरी छ।

बजार जानकार केशव कोइराला (काका)ले अर्थशास्त्रीका रुपमा परिचित महत अर्थमन्त्री बन्नुले पक्कै पनि लगानीकर्ताको मनोबल बढ्ने बताउँछन्। ‘अब लगानीकर्ताको मनोबल थप बढाउन अर्थमन्त्री महतले बजार सुधारका लागि तत्काल देखिने गरी काम गर्नुपर्छ’, उनले भने, ‘यसो भएमा बजारको महौला पनि सकारात्मक बन्नेछ।’