काठमाण्डौ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले अर्थतन्त्रको वर्तमान अवस्था जोखिममा रहेको बताएका छन्। 

काठमाण्डौको लैनचौरस्तित उपराष्ट्रपतिको निवासमा नेपाल चेम्बर अफ कमर्सको पदाधिकारीसँगको भेटमा उपराष्ट्रपति यादवले यस्तो धारणा राखेका हुन्। तरलता अभाव, उच्च ब्याजदर, पुँजीगत खर्च समयमै हुन नसक्ने, बेरोजगारीजस्ता समस्याको दिगो समाधान खोज्न सकिएमात्रै आर्थिक समृद्धि हासिल गर्न सकिने उनको भनाइ थियो। 

‘अर्थतन्त्रमा हाल देखिएका समस्याको दीर्घकालीन समाधान खोज्न जरुरी छ’, उनले भने, ‘सरकार र निजी क्षेत्रबीच निरन्तर सहकार्य गर्न आवश्यक छ।’

चेम्बर अफ कमर्सले दिएको सुझावलाई आफूले सरकारी निकायहरुमा ध्यानाकर्षण गराउने उपराष्ट्रपति यादवले प्रतिबद्धता जनाए। मुलुकमा वास्तविक तथ्यांकको अभावमा सरकारी लगानीको प्रतिफल आउन नसकेको उनले गुनासो गरे। 

निजी क्षेत्रले पनि सरकारको सारथीको रुपमा अध्ययन–अनुसन्धानमा सहयोग गर्नुपर्नेमा उनले जोड दिए। सरकारले आर्थिक, औद्योगिक, सामाजिक एवं अन्य क्षेत्रमा लगानी गर्नुअघि बास्तविक तथ्यांक खोज्नुपर्ने उनको भनाइ थियो। 

उपराष्ट्रपति यादवसँगको भेटका क्रममा चेम्बर अध्यक्ष मल्लले आर्थिक विकास र समृद्धिका लागि समन्वयकारी भूमिका निर्वाह गरिदिन आग्रह गरे। ‘बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय नहुँदा अर्थतन्त्रले अपेक्षित गति लिन सकेको छैन’, उनले भने, ‘पछिल्लो समय उच्च ब्याजदरका कारण उद्यमी–व्यवसायी एवं सर्वसाधरण ऋणीहरुमा गम्भीर असर गरेको छ।’ 

पुँजीगत खर्च हुन नसक्ने समस्यालगायतले आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किन नसकेको अध्यक्ष मल्लले बताए। सरकारी सेवालाई चुस्त र प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए। राजश्व विभाग, राहदानी विभाग, यातायात कार्यालयजस्ता क्षेत्रमा टाइम बाउन्ड लागू हुनुपर्ने उनको भनाइ थियो। 

आर्थिक समृद्धि र अर्थतन्त्रलाई चलायमान बनाउन एकल अंकको ब्याजदर कायम गर्नुपर्ने भन्दै अध्यक्ष मल्लले बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिए। नयाँ कर्जा प्रवाह गरिँदा ब्याजदरमा लकअप प्रणाली लागू गरिनुपर्ने आफूहरुको माग रहेको मल्लले बताए। 

लकअप प्रणाली कायम गरिए वित्तीय सन्तुलन कायम हुने र ऋणीहरु मर्कामा नपर्ने चेम्बरको ठहर छ। 

भेटमा चेम्बर पदाधिकारीले नवनियुक्त उपराष्ट्रपति यादवलाई बधाइ एवं सफल कार्यकालको शुभकामना दिएका थिए।