– प्रकाश न्यौपाने
काठमाण्डौ । नयाँ अर्थमन्त्री नियुक्तिसँगै सेयर बजार बढ्ने आशा लगानीकर्ताले गरेका थिए। तर, लगानीकर्ताको आशा निराशामा परिणत गर्दै बजारमा लगातार गिरावट आइरहेको छ।
लामो समयपछि मन्त्रिमण्डल विस्तार हुँदा अर्थमन्त्रीमा नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महत नियुक्त भएका छन्। लगानीकर्ताले सोचेअनुरुपकै व्यक्ति अर्थमन्त्रीमा नियुक्त भएका छन्। अर्थ मन्त्रालयका जिम्मेवारी सम्हालेलगत्तै महतले सुरुआतमै गभर्नर महाप्रसाद अधिकारीसँगको भेटमा अर्थतन्त्र सुधारका लागि हातेमालो गर्नुपर्नेमा जोड दिएका थिए।
पछिल्लो समय विभिन्न संघसंगठनहरुका पदाधिकारीहरुसँगको भेटमा अर्थतन्त्रसँगै पुँजीबजारको सुधारका लागि आवश्यक पहल गर्ने आश्वासन दिइरहेका छन्। तर, यही बेला बजार भने लगातार घटिरहेको छ। यसले गर्दा लगानीकर्ताले मन्त्रीको आश्वासनभन्दा पनि तत्काल देखिने गरी नीतिगत सुधारको अपेक्षा राखेका हुन् कि भन्ने अनुमान गर्न सकिन्छ।
यसअघि विष्णु पौडेल अर्थमन्त्री भएर आउनासाथ बजार बढेको थियो। त्यतिबेला छोटो समयमै बजार ४०० अंकले उकालो लागेको थियो। तर मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा लगानीकर्ताले उठाएका माग सम्बोधन नहुनु र विष्णु पौडेल अर्थमन्त्रीबाट बाहिरनुले फेरि बजार घटेको थियो।
नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार बजारमा अहिले आर्थिक र राजनीतिकभन्दा पनि सिजनल प्रभाव परेको बताउँछन्। ‘चैतमा जहिले पनि बजारमा दबाब पर्छ। यो बेला बैंकको किस्ता तिर्नुपर्ने हुन्छ’, उनले भने, ‘अर्कोतर्फ यही बेला कम्पनीहरुको बोनस सेयर सूचीकृत भइरहेका छन्। जसले गर्दा बोनस सेयर बेचेर खर्च जोहो गर्नेहरु पनि बढेका छन्। त्यही कारणले बजारमा दबाब देखिएको हो।’
अर्थमन्त्री भर्खर आएकोले नीतिगत परिवर्तन हुन केही समय लाग्ने रौनियारले बताए। ‘यद्यपि अहिले लगानीकर्ताले अर्थमन्त्रीको आश्वासनभन्दा पनि उनले तत्काल ठोस काम गर्ने आशा गरेका छन्’, उनले भने, ‘त्यसैले अहिले नै केही नीतिगत परिवर्तन नभएकोले पनि लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा बसेका हुन सक्छन्। त्यही भएर बजार साइडवेजमा चलेको देखिन्छ।’
लगानीकर्ताको मनोबल बढाउन राष्ट्र बैंकले केही समयपहिला ल्याएका बजार प्रतिकूल नीतिहरु परिमार्जन हुन आवश्यक रहेको रौनियार बताउँछन्।
बजार जानकार वीरेन्द्र बिष्ट लगानीकर्ताको मनोबल बढ्न नसक्दा बजारले लय लिन नसकेको बताउँछन्। ‘विगतका अर्थमन्त्रीले बजारका सुधारका लागि आश्वासनमात्रै बाँडेका र अहिलेका अर्थमन्त्रीले पनि आश्वासनमात्रै दिने हो कि भन्ने शंकामा लगानीकर्ताहरु छन्’, उनले भने, ‘त्यही कारणले बजारमा खरिदचाप आउन नसकेको हो।’
अर्कोतर्फ अर्थमन्त्री र गभर्नरको समन्वय कस्तो हुने हो भन्ने द्विविधामा पनि लगानीकर्ता रहेका बिष्ट बताउँछन्। ‘त्यही भएर अहिले ठूला लगानीकर्ताहरु पर्ख र हेरको रणनीतिमा बसेका छन्’, उनले भने, ‘कुनै नीतिगत सुधार हुने सम्भावना देखेमा उनीहरु बजार पस्नेछन्। त्यसपछि मात्र बजारमा सुधार आउला।’
अहिले बजारमा हल्ला चलेझैँ बैंकहरुको खराब कर्जा नबढ्ने बिष्ट बताउँछन्। ‘कुनै बेला बैंकहरुको खराब कर्जा ८ प्रतिशत रहँदा वाणिज्य बैंकहरुको सेयरभाउ न्यून ३०० रुपैयाँ थियो’, शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालकसमेत रहेका बिष्टले भने, ‘तर, अहिले त्यो स्थिति होइन। केही बढ्ला तर ५ प्रतिशभन्दा माथि जाँदैन। यही बेला केही बैंकहरुको सेयरमूल्य २०० भन्दा तल आएको देखिन्छ। यसले यतिबेला लगानी गर्ने उचित समय रहेको देखाउँछ।’
अर्का बजार जानकार सरोज भट्टराई अर्थमन्त्री महत पुँजीबजारप्रति सकारात्मक नै रहेको बताउँछन्। ‘अर्थमन्त्रीका पछिल्लो भेटघाटले पनि यसलाई प्रस्ट पर्छ’, उनले भने, ‘तर, अर्थमन्त्री बन्नेबित्तिकै नीतिगत सुधार हुने होइन, त्यसका लागि समय लाग्छ। त्यसैले ठोस निर्णय आइनसकेकोले बजार सम्हालिन नसकेको हो।’
अहिले अर्थतन्त्रमा देखिएका समस्याका कारण पनि लगानीकर्ताको मनोबल बढ्न नसकेको भट्टराई बताउँछन्। ‘अहिले ब्याज तिर्ने समय पनि हो’, उनले भने, ‘अर्कोतर्फ ८ प्रतिशतमा लिएको ऋणको ब्याज १६ प्रतिशतसम्म तिर्नुपर्ने अवस्था छ। जसका कारण लगानीकर्तालाई ठूलो मार परेको छ।’
बजार सुधारका लागि लघुवित्त संस्थाहरुका लागि भर्खर ल्याइएको नीतिमा केही खुकुलो बनाउनुपर्ने, सेयर धितो कर्जामा १२ करोडको क्याप हटाउनुपर्ने र जोखिम भारित औसत दरमा पुरानै १०० प्रतिशत कायम गर्नुपर्ने भट्टराई बताउँछन्। ‘यी काम भएमा लगानीकर्ताको मनोबल बढ्ने र पुँजीबजारमा पनि सुधार आउनेछ’, उनले भने।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago