काठमाण्डौ । उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)को आगामी निर्वाचनमा एशोसिएटतर्फ पूँजीबजारको प्रतिनिधित्व गर्दै २ जना निर्वाचित हुने सम्भावना बढेको छ । 

पूँजीबजारको प्रतिनिधित्व गर्दै एशोसिएसटतर्फको सदस्य पदमा लगानीकर्ता अम्बिकाप्रसाद पौड्याल र स्टक ब्रोकर एशोसिएसनका पूर्व अध्यक्ष भरत रानाभाटले उम्मेद्वारी दिएका हुन् । 

एशोसिएटतर्फ सोमबारसम्म तीनवटा प्यानल बनेको थियो । तीनवटा प्यानलको नेतृत्व क्रमशः भरतराज आचार्य, प्रवलजंग पाण्डे र ज्योत्सना श्रेष्ठले गरेका थिए । तर, मंगलबार बिहान प्रवलजंग पाण्डेले आफ्नो उम्मेद्वारी फिर्ता लिंदै भरतराज आचार्यको टिमलाई सहयोग गर्ने उद्घोष गरेसँगै एशोसिएटतर्फ २ वटा टिमबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । 

पहिला पाण्डे र आचार्यको टिमबाट एशोसिएट सदस्यमा उम्मेद्वारी दिएकाहरुबीच पनि सहमति भएसँगै उम्मेद्वारहरुको अन्तिम नाम फाइनल भएको एक व्यवसायीले जानकारी दिए । दुवैतर्फका ९-९ जनालाई टिममा राखेर नयाँ र मजबुत प्यानल बनाइएको आचार्य समूहले दाबी गरेको छ । यसरी संयुक्त प्यानल बनाउँदा समेत पूँजीबजारबाट प्रतिनिधित्व गर्ने पौड्याल र रानाभाटकै नाम समेटिएको छ । दुईवटा टिम मर्ज भई बलियो प्यानल बनेका कारण आचार्य नेतृत्वले चुनावमा जित हात पार्ने अधिक सम्भावना छ । यसकारण पनि यही प्यानलबाट सदस्यमा उम्मेद्वारी दिएका पौड्याल र रानाभाटको समेत जित हुने सम्भावना देखिएको हो । 

पौड्याल भने पूँजीबजारको प्रतिनिधित्व गर्दै यसअघि पनि एशोसिएट सदस्यमा निर्वाचित भइसकेका व्यक्ति हुन् । उनले एफएनसीसीआईमा गएर पहिलोपटक पूँजीबजार फोरम नै गठन गरेका थिए । फोरमको पनि उनी संयोजक हुन् ।