काठमाण्डौ । निजी क्षेत्रको प्रतिनिधिमूलक संगठन नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)को नयाँ कार्यसमिति चयन गर्न आज निर्वाचन हुँदैछ । 

मतदानको कार्यक्रम बिहान ८ बजेदेखि काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भइसकेको छ । मतदान अपरान्ह ४ बजेसम्म हुनेछ ।

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधानले व्यवस्था गरेपछि महासंघको प्रत्येक चुनावहरु निकै प्रतिस्पर्धात्मक हुँदै  आएको छ । पहिला यस्तो व्यवस्था थिएन । 

वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुने व्यक्ति नै वेटिङ प्रेसिडेन्ट हुने विधानको व्यवस्थाका कारण सो पदमा निर्वाचित हुने गरी तीनवटा टिम मैदानमा छन् । 

उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठबीच वरिष्ठ उपाध्यक्षका लागि कडा प्रतिस्पर्धा हुँदैछ । यी तीन उम्मेद्वारले जिल्ला तथा नगर, वस्तुगत र एशोसिएसटतर्फ पनि अलग अलग टिम बनाएका छन् । यीमध्ये एशोसिएट उपाध्यक्षमा भरत आचार्यको सम्भावना देखिएको छ । आचार्यलाई अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ समूहको समर्थन छ । संघई प्यानलबाट ज्योत्सना श्रेष्ठ एशोसिएट उपाध्यक्षकी उम्मेद्वार छिन् । 

यो पटकको निर्वाचनको प्रतिस्पर्धा निकै रोचक हुने देखिन्छ । महासंघको निर्वाचनको क्रममा जातीय विषयलाई पनि अगाडि सारिएकोले परिणाम कतिपयले आँकलन गरेभन्दा फरक आउनसक्ने समेत देखिन्छ । 

प्रतिस्पर्धाको अहिलेसम्मको अवस्था हेर्दा उमेशलाल श्रेष्ठ अरुभन्दा बलिया देखिएका छन् । उमेशलाल र अञ्जन श्रेष्ठबीच भोटा काटाकाटको अवस्था बन्ने समेत सम्भावना देखिन्छ । यदि त्यसो भयो र साम्प्रदायिकता हाबी भयो भने यसअघिको चुनावमाजस्तो रामचन्द्र संघईले सरप्राइज नदेलान् पनि भन्न सकिन्न । उनको पक्षमा देशभरका मारवाडी समुदाय एक भएर लागेको अन्य उम्मेद्वारहरुको बुझाई छ । 

यसैबीच, महासंघको कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित भइसकेका छन् । यस हिसाबले अब एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य मतदानबाट चयन हुनेछन् । 

कार्यसमिति सदस्यमा लुम्बिनी प्रदेशबाट जम्शेर मिया, द्विराष्ट्रिय उद्योग वाणिज्य संघको तर्फबाट सुनिल केसी, संस्थापक सदस्यको तर्फबाट भीष्मप्रसाद न्यौपाने र सुदूरपश्चिम प्रदेशको तर्फबाट जंगबहादुर मल्ल सर्वसम्मत भइसकेका छन् ।

महासंघको विधान अनुसार हाल वरिष्ठ उपाध्यक्ष रहेका चन्द्रप्रसाद ढकाल ३० चैतदेखि स्वतः अध्यक्ष बन्नेछन् ।