काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महत र विश्व बैंक दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन रेजरबीच टेलिफोन वार्ता भएको छ । 

टेलिफोन वार्तामा डेभलपमेन्ट पोलिसी रिभ्यू (डिपीसी)को प्रभावकारिता र कार्यान्वयनका विषयमा छलफल भएको थियो । 

आगामी जुन महिनामा नेपालमा डिपीसी पुनरावलोकनका सम्बन्धमा पनि थप छलफल हुने भएको छ । 

विश्व भौतिक पूर्वाधार विकासका लागि विश्व बैंकको नेपालमा धेरै ठूलो लगानी छ, यसलाई अझ कसरी वृद्धि र प्रभावकारी कार्यान्वयन गराउन सकिन्छ भन्ने विषयमा समेत छलफल भएको थियो । 

विशेष गरी पूर्वाधार विकासमा विश्व बैंकको सहयोगलाई नेपालमा अझ बढी कसरी उपयोग गर्न सकिन्छ भन्ने प्रस्ताव अर्थमन्त्री डा. महतले राखेका थिए । विश्व बैंकले नेतृत्व गरिरहेको ‘माथिल्लो अरुण’मा थप लगानीकर्ता पनि विश्व बैंकले नै खोज्ने भएकाले यस विषयमा छलफल भएको थियो । 

माथिल्लो अरुण आयोजना सम्पन्न गर्ने विषयमा छलफल हुनुका साथै अन्य पूर्वाधार विकासमा पनि विश्व बैंकको सहयोग के कस्तो रहन्छ भन्ने विषयमा मन्त्री डा. महतले चासो राखेका थिए । मन्त्री डा. महतको चासोमा क्षेत्रीय उपाध्यक्ष रेजरबाट सकारात्मक जवाफ आएको सचिवालयले जनाएको छ ।