काठमाण्डौ । नेपाल उद्योग बाणिज्य महासंघ(एफएनसीसीआई)को बरिष्ठ उपाध्यक्ष पदमा पुनः मतदान हुने सम्भावना बढेको छ । 

कुल खसेको मतको ५० प्रतिशत मत ल्याउने उम्मेद्वार मात्र विजेता घोषित हुने विधानको व्यवस्था छ । एशोसिएसट्सतर्फको सबै मत गनिसक्दाको रुझान हेर्दा वरिष्ठ उपाध्यक्ष पदका ३ मध्ये कुनै पनि उम्मेद्वारले ५० प्रतिशत मत ल्याउने सम्भावना देखिएको छैन । 

पछिल्लो विवरणअनुसार रामचन्द्र संघाईले एशोसिएट्सतर्फको मतगणना हुँदा सबैभन्दा बढी ६१० मत प्राप्त गरेका छन् । तर, यो मत एशोसिएट्सतर्फ कुल खसेको मतको ५० प्रतिशत होइन।

एसोसिएट्स तर्फको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठले ५५८ र उमेशलाल श्रेष्ठले ४१५ मत ल्याएका छन् । 

जिल्लानगर र वस्तुगतबाट वरिष्ठ उपाध्यक्षको मत गन्न बाँकी नै छ । 

एशोसिएटको मत रुझानलाई आधार मान्दा अब तीनमध्ये कसैले पनि ५० प्रतिशत मत ल्याउने अवस्था देखिन्न । त्यसो भयो भने दोश्रो चरणको मतदान गर्नुपर्ने हुन्छ । बढी मत ल्याउने २ उम्मेद्वार पुनः मैदानमा उत्रिनेछन् । यो क्रममा सबैभन्दा कम मत ल्याएर तेश्रो हुने उम्मेद्वारले जसलाई सहयोग गर्छ, उसैको जित हुने अवस्था देखिएको छ । 

यस्तो अवस्थामा मतको किनबेच खेल समेत हुनेछ । पैसा कसले कति बढी खर्च गर्छ र तेश्रो हुने उम्मेद्वारलाई कसले खरीद गर्नसक्छ, त्यसमै निर्भर हुनेछ कसले चुनाव जित्छ भन्ने विषय । 

जानकारहरुको दाबीलाई आधार मान्ने हो भने दोश्रो चरणको मतदान भयो भने एउटा वरिष्ठ उपाध्यक्षको चुनाव खर्च करिब २० करोड पुग्नेछ ।