काठमाण्डौ । निजी क्षेत्रको प्रतिनिधिमूलक संगठन उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठले बाजी मारेका छन् । 

वरिष्ठ उपाध्यक्षका अर्का प्रत्यासी उमेशलाल श्रेष्ठ ब्याक भएपछि अञ्जन श्रेष्ठ सहमतिमा वरिष्ठ उपाध्यक्ष बनेका हुन् । 

महासंघको विधानअनुसार उनी भावी अध्यक्ष सुनिश्चित भएका छन् । 

हिजो भएको निर्वाचनको मतपरिणामअनुसार वरिष्ठ उपाध्यक्षका तीन प्रत्यासी रामचन्द्र संघाई, उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठमध्ये कसैले पनि ५० प्रतिशत मत पाएका थिएनन् । यी तीनमध्ये पहिलोचरणको चुनावी प्रक्रियाबाट रामचन्द्र संघाई बाहिरिएका थिए । दोश्रो चरणका लागि उमेशलाल र अञ्जन भिड्ने तयारी गरिरहेका थिए । 

महासंघमा आजैदेखि अध्यक्षको कार्यभार सम्हालेका चन्द्र ढकालले उमेशलाल र अञ्जनबीच सहमतिको प्रयास गरेका थिए । पूर्व अध्यक्ष तथा महासंघकै वरिष्ठ पूर्व सदस्यहरुले समेत सहमतिको प्रयास गरेका थिए । जसको फलस्वरुप उमेशलालले आफ्नो दाबी छाड्दै अञ्जनलाई वरिष्ठ उपाध्यक्षमा समर्थन गरेका हुन् ।