काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा  चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । 

महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था भएअनुसार बिहीबार सम्पन्न ५७औँ साधारणसभामार्फत महासंघको २०औँ अध्यक्षमा उनी निर्वाचित भएका हुन् ।

अध्यक्ष शेखर गोल्छामार्फत् ढकालले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।  शपथ ग्रहणलगत्तै नवनिर्वाचित अध्यक्ष ढकालले आफूले लामो समयदेखि जारी राखेको सर्वसम्मतिको प्रयास अन्तिममा सफल भएको बताए । 

उनले यसका लागि उमेशलाल श्रेष्ठका साथै पूर्वअध्यक्षहरुको ठूलो भूमिका रहेको भन्दै अध्यक्षका रुपमा महासंघको छवीलाई आगामी दिनमा अझ उँचो बनाउनेमा विश्वास व्यक्त गरे ।

महासंघको नव–निर्वाचित अध्यक्षको रुपमा ढकालले  अबको कार्यकालमा पाँचवटा विषयहरु पहिलो– वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, दोस्रो–लगानीको वातावरण बनाउने, तेस्रो– राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने, चौथो– दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने, र, पाँचौ– व्यवसायीहरुको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने कामलाई प्राथमिकतामा  राखेको उल्लेख गरे ।

नवनिर्वाचित अध्यक्ष ढकाल पहिलो पुस्ताका सफल उद्यमी हुन् । महासङ्घमा दुई कार्यकाल कार्यकारिणी समिति सदस्य रहेका ढकालले लगानी समिति, रोजगारदाता परिषद्को सभापति, एसोसिएट उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।