काठमाण्डौ । चालु आर्थिक वर्षको ९ महिना सकिँदा सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ। 

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार गत साउनदेखि चैत मसान्तसम्म आउँदा सरकारले कुल ७ खर्ब २४ अर्ब आम्दानी गरेको छ। यही अवधिमा सरकारले ९ खर्ब ४३ अर्ब खर्च गरेको छ। यस हिसाबले सरकारको आम्दानीभन्दा खर्च २ खर्ब १९ अर्ब रुपैयाँले बढी देखिएको छ।

यो ९ महिनामा सरकारले बजेटमार्फत लिएको लक्ष्यको आधा पनि राजस्व उठ्न सकेको छैन। बजेटमार्फत सरकारले कुल १४ खर्ब ३ रुपैयाँबराबर राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ९ महिना सकिँदा ४८.७ प्रतिशत अर्थात ६ खर्ब ८३ अर्ब रुपैयाँमात्रै संकलन भएको छ। 

कार्यालयको तथ्यांकअनुसार योे अवधिमा चालु खर्च ७ खर्ब ६ अर्ब रुपैयाँ छ। चालु खर्च कुल लक्ष्यको ५९.७ प्रतिशत हो। 

यसैगरी यो अवधिमा पुँजीगत खर्च जम्मा १ खर्ब ७ अर्ब रुपैयाँमात्रै भएको छ। जुन लक्ष्यको २८.१९ प्रतिशतमात्रै हो।