 
                     
                                
                             
                                    काठमाण्डौ । पुँजीबजारसम्बन्धी नयाँ व्यापारिक लाइसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ती कार्यान्वयन गर्न लगानीकर्ताहरुले माग गरेका छन्।
पुँजीबजार सुधार सम्बन्धमा नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघले संयुक्त रुपमा अर्थमन्त्री प्रकाशशरण महतलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन्। नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताहरुको प्रमुख मागका रुपमा रहेको खुला रुपमा नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्ज थप्ने प्रक्रिया क्याबिनेटबाट पास भई सबै कानुनी प्रक्रियाहरु पूरा गर्दै वितरणको प्रक्रिया अन्तिम चरणमा पुग्नै लागेको अवस्थामा केही दिनअघि सार्वभौम सत्तासम्पन्न संसदमा केही सांसदहरु नै लाइसेन्स वितरण प्रक्रिया लाई प्रभावित पार्ने उद्देश्य राखेर उठाइरहेको आवाजप्रति लगानीकर्ता संघसंगठनले आपत्ति जनाएका छन्। ‘आमलगानीकर्तालाई नै दिग्भ्रमित पार्ने गरी यसरी संसदमा कुरा राखिनु कदापि लगानीकर्ताहरुका साथै समग्र नेपालको अर्थतन्त्रको हितमा हुँदैन’, ज्ञापनपत्रमा भनिएको छ।
लगानीकर्ताका संघसंगठन अर्थमन्त्रीसमक्ष ६ बुँदे माग अघि सारेका छन्।
लगानीकर्ताको प्रमुख मागको रुपमा रहेको खुल्ला रुपमा नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ती कार्यान्वयन गर्न ज्ञापनपत्रमा माग गरिएको छ।
यसैगरी १२ करोड रुपैयाँसम्मको सेयर कर्जाको सीमाले सेयर बजारलाई निरुत्साहित गरेकोले सो व्यवस्थालाई फिर्ता लिनका लागि अनुरोध गरिएको छ। सेयर कर्जामा लगाईएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिदिन पनि लगानीकर्ताहरुले माग गरेका छन्।
लगानीकर्तालाई अल्पकालीन र दीर्घकालीन लगानीकर्ताका रूपमा विभाजन गरी सोहीअनुरुप अल्पकालीन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालिन लगानीकर्तालाई ३ प्रतिशत पूँजीगत लाभकर लगाउने व्यवस्था गर्न ज्ञापनपत्रमा माग गरिएको छ।
विद्यमान ब्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकोले उक्त ब्याजदरमा पुनरावलोकन गरी एकल अंकमा कायम गरिदिन माग गरिएको छ। 
तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था सिर्जना हुन गएकोले उक्त समस्याको तत्काल समाधान गर्ने व्यवस्था गरिदिन अर्थमन्त्रीसमक्ष लगानीकर्ताहरुले माग गरेका छन्। 
यी मागहरु क्रमशः सम्बोधन भई कार्यान्वयनमा ल्याउँदा शेयर वजारको गुणात्मक र परिमाणात्मक दीर्घकालीन विकास हुन गई सरोकारवाला सबै पक्षको आयमा वृद्धि हुनुका साथै विश्वासिलो र भरपर्दो लगानी गन्तव्यको क्षेत्रका रुपमा यस पुँजीबजारलाई स्थापना गर्न सक्षम र सफल हुने ज्ञापनपत्रमा उल्लेख छ।



 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19