काठमाण्डौ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जाँदा तोकिएभन्दा बढी हवाईभाडा लिनेविरुद्ध उजुरी दिन आह्वान गरिएको छ।

युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रालिले आज सूचना जारी गर्दै यस्तो आह्वान गरेको हो। सरकारसँग भएको सम्झौताअनुसार तोकिएको भाडा तिरेरमात्र कोरिया जान आग्रह पनि गरिएको छ। 

गत माघ ३ गते वैदेशिक रोजगार विभागको ईपीएस शाखा र युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रालिबीच भएको सम्झौताअनुसार ८९५ अमेरिकी डलर हवाईभाडा निर्धारण गरिएको छ। सोहीअनुसार राष्ट्र बैंकको प्रचलित विनिमयदरबमोजिम हुन आउने रकम सौझै तोकिएको बैंक खातामा जम्मा गरी टिकट लिन सूचनामार्फत आग्रह गरिएको छ। 

यदि तोकिएको रकमभन्दा बढी रकम लिएमा वा लिने प्रयास गरेमा उजुरी गर्न अनुरोध गरिएको छ। उजुरी युनिभर्सल टुर्स एन्ड ट्राभल्सको ईपीएस शाखामा वा वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखामा गर्न सकिने सूचनामा उल्लेख छ।