काठमाण्डौ । नेपालका लागि संघीय गणतन्त्र अस्ट्रियाका अवैतनिक वाणिज्यदूत राजेशबाबु श्रेष्ठ अस्ट्रियाका राष्ट्रपतिबाट विभूषित भएका छन्। 

नेपालमा रहेर मित्रराष्ट्र अस्ट्रियाका लागि गरेको सेवाबापत श्रेष्ठले राष्ट्रपतिबाट प्रदान गरिने प्रतिष्ठित विभूषण ‘डेकोरेसन अफ अनर इन सिल्भर’ पाएका हुन्। यो अस्ट्रिया राज्यले प्रदान गर्ने सम्मान हो। 

काठमाण्डौमा आयोजित एक कार्यक्रममा नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा नेपालका लागि गणतन्त्र अस्ट्रियाकी राजदूत क्याथरिना विजरले श्रेष्ठलाई विभूषण हस्तान्तरण गरेकी थिइन््। यसअघि सन् २०१३ मा नेपालका लागि अस्ट्रियाका तत्कालीन अवैतनिक वाणिज्यदूत स्व..लक्ष्मणबाबु श्रेष्ठलाई अस्ट्रिया सरकारले ‘डेकोरेसन अफ अनर इन गोल्ड’बाट विभूषित गरेको थियो। 

कार्यक्रममा सम्मानित व्यक्तित्व श्रेष्ठले भौगोलिक अवस्थिति, हिमालय र अतिथि सत्कारको परम्परामा नेपाल र अस्ट्रियाबीच समानता रहे पनि आर्थिक विकासको सन्दर्भमा अस्ट्रियाले ठूलो प्रगति हासिल गरेको बताए। उनले आर्थिक समृद्धि हासिल गर्ने सन्दर्भमा नेपालले अस्ट्रियाबाट धेरै कुरा सिक्न सक्ने पनि पनि उल्लेख गरे। 

पर्यटन, सुरुङ र हिमाली पूर्वाधार, जलविद्युत् तथा स्वच्छ ऊर्जाजस्ता क्षेत्रमा अस्ट्रियाबाट नेपालले धेरै अनुभव लिन सक्ने श्रेष्ठको भनाइ थियो। 

कार्यक्रममा नेपालका लागि अस्ट्रियाकी राजदूत विजरले सन् २००७ मा लक्ष्मणबाबु श्रेष्ठ नेपालका लागि अस्ट्रियाका अवैतनिक दूत नियुक्त भएपछि अस्ट्रियाले उनले र पछि हालका अवैतनिक दूतबाट पाएको सहयोगको प्रशंसा गरिन्। कोभिड–१९ महामारीका बेला अवैतनिक दूत श्रेष्ठले नेपालमा रहेका अस्ट्रियाका नागरिकलाई गरेको सहयोग अविस्मरणीय रहने पनि उनले बताइन्। 

श्रेष्ठ मनकामना दर्शन प्रालिका प्रबन्ध निर्देशक पनि हुन्।