काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण प्रक्राउ परेको छ। 

खाँणलाई प्रहरीले मैजुबहालस्थित घरबाट पक्राउ गरेको हो। उनलाई पक्राउ पुँर्जी थमाएर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भन्दै असुली गरेको गिरोहलाई नीतिगत निर्णय गराउन खाँणले सहयोग गरेको बताइएको छ। आर्थिक लाभ लिएर खाँणले गिरोहलाई सहयोग गरेको यही प्रकरणमा पक्राउ परेका ललितपुरका सानु भण्डारीले प्रहरीसमक्ष बयानमा भनेका छन्। 

उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाण्डौको संयुक्त टोली खाँणलाई पक्राउ गर्न खटिएको थियो । खाँण पक्राउ गरेलगत्तै जडीबुटीबाट उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको थियो । 

दुवैलाई आजै जिल्ला अदालत काठमाण्डौ उपस्थित गराएर हिरासतमा राख्न अनुमति लिने तयारी प्रहरीले गरेको छ। 

यसअघि गत चैत १२ गते भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङका सागर राई पनि पक्राउ परेका थिए।

पक्राउ परेकाहरुको बयानकै आधारमा जिल्ला प्रहरी परिसर काठमाण्डौले गत वैशाख १९ गते रामबहादुर थापा गृहमन्त्री हुँदा उनका सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राईलाई पक्राउ गरेको थियो । वैशाख २० गते मन्त्रालयका पूर्वसचिव एवं उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परेका थिए।

यही प्रकरणमा नेकपा एमालेका सचिव एवं पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी फरार छन्। उनका छोरा सन्दीप रायमाझी पक्राउ परिसकेका छन् । पूर्वगृहमन्त्री बादलका छोरा प्रतिक थापाविरुद्ध पनि पक्राउ पूर्जी प्रहरीले लिएको छ।