काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थलमार्गबाट नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरु अन्तरमन्त्रालय समन्वयको अभावमा नेपाल–भारत सिमानाकाहरुमा दुःख पाएको गुनासो आएकोले अन्तरमन्त्रालय समन्वय गरी तत्काल समस्याको समाधान निकाल्न आग्रह गरेका छन्। 

काठमाण्डौमा बिहीबार नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस्को ५४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो आग्रह गरेका हुन्। ‘हाम्रा विभिन्न सरकारी निकायहरुबीच समन्वय नहुँदा भारतीय सीमानाकाबाट स्थलमार्गबाट आउने पर्यटकले विभिन्न किसिमका झमेला झेल्न परिरहेको गुनासो आउने गरेको छ’, उनले भने, ‘अर्थ, गृह र पर्यटन मन्त्रालयहरुबीच समन्वयको अभावमा समस्या परेको देखिन्छ। यो ठूलो समस्या होइन। यसलाई १–२ दिन वा हप्ता दिनभित्रै समाधान गर्न सकिन्छ। म माननीय मन्त्रीज्यूलाई के आग्रह गर्न चाहन्छु भने यसको तत्काल समाधान गरियोस्। पर्यटकले दुःख पाउँदा नराम्रो सन्देश जाने र नेपालप्रति नकारात्मक धारणा बन्न सक्छ।’

ढकालले हरेक प्रदेशमा ठूला र नमुना पर्यटकीय गन्तव्यहरु निर्माणमा निजी क्षेत्रलाई सहजीकरण गर्न नेपाल सरकार र अन्य निकायलाई आग्रह गरे। काठमाण्डौको चन्द्रागिरिमा निर्माण गरिएको पर्यटकीय पूर्वाधारको उदाहरण प्रस्तुत गर्दै उनले यस्तै किसिमका पूर्वाधारहरु सातवटै प्रदेशमा निर्माण गर्नमात्र सके पनि अहिलेको पर्यटक बसाइलाई दोब्बर गर्न सकिने बताए। ‘हामीले जहिले पनि समस्यामात्र राख्ने तर समाधानको उपायमा छलफल नै नगर्ने भन्ने कुरा यहाँ उठेको छ। म समस्यासँगै समाधानको उपाय पनि राख्न चाहन्छु’, उनले भने, ‘हामीले काठमाण्डौको चन्द्रागिरिमा निर्माण गरेको रिसोर्ट र केबलकारसहितको स्थान अहिले स्वदेशी र विदेशी दुवै पर्यटकको रोजाइको नयाँ गन्तव्य बनेको छ। हामीले यस्ता गन्तव्यहरु हरेक प्रदेशमा कम्तिमा एउटामात्र पनि बनाउन सकेमा पर्यटकको बसाइ लम्बाउन र खर्च बढाउन सकिन्छ।’

आफूले पनि सातवटै प्रदेशमा पर्यटन पूर्वाधार बनाउनुपर्छ भनेर अभियन्ताका रुपमा लागेको ढकालको भनाइ थियो। नेपाल–भारत सीमानाका नजिक रहेका नेपालका पहाडी गन्तव्यहरु भारतीय पर्यटकको रोजाइका नयाँ गन्तव्य बन्दै गएको उल्लेख गर्दै उनल ेसरकारले ती स्थानमा पर्यटन पूर्वाधार निर्माणमा सहजीकरण गर्नुपर्ने धारणा राखे। ‘सिमानाका नजिक रहेका नेपालका पहाडी गन्तव्यहरु भारतीय पर्यटकको रोजाइ बन्दैछन्। नेपालका हिल स्टेसनमा आएर विवाह, पिकनिक, पार्टीलगायत अन्य सामाजिक तथा मनोरञ्जनात्मक गतिविधिहरु गर्न चाहने भारतीय र अन्य छिमेकी देशका पर्यटकलाई यहाँ आकर्षित गर्न सकिन्छ’, उनले भने, ‘सरकारले न्यूनतम पूर्वाधारहरु जस्तै– बाटो, बिजुली, पानी र सुरक्षा मात्र पनि व्यवस्था गरिदिने हो भने निजी क्षेत्रले यसको पहल गरिरहेको छ। यसबाट अहिले विदेशी मुद्राको सञ्चितिमा देखिएको समस्या समाधानका साथै रोजगारी र राजश्वमा समेत ठूलो योगदान पुग्न सक्छ।’

कोभिड महामारीपछि थला परेको पर्यटन व्यवसाय पुनः लयमा आउन लागेको उल्लेख गर्दै अध्यक्ष ढकालले भैरहवा र पोखरामा निर्माण सम्पन्न भइसकेका अन्तर्राष्ट्रिय विमानस्थलहरुको सञ्चालनका लागि आवश्यक पहल गर्न नेपाल सरकारलाई आग्रहसमेत गरे। ‘हामीकहाँ दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन सकेका छैनन्। विभिन्न देश र सहरलाई हवाई यातायातमार्फत प्रत्यक्ष जोड्न सकेमा थप विदेशी पर्यटक पनि भित्र्याउन सकिन्छ। यसतर्फ सरकारले ध्यान दिन जरुरी छ’, उनले भने। 

ढकालले विश्वका धेरै देशहरुमा पर्यटकलाई धेरैभन्दा धेरै खर्च गराउन प्रोत्साहन गर्ने नीति रहेको उल्लेख गर्दै नेपालमा भने पर्यटकले नगद रुपैयाँ ल्याउँदा अधिकतम सीमा निर्धारण गर्दा खर्च बढ्न नसकेको बताए। ‘विश्वका धेरै देशमा पर्यटकलाई धेरैभन्दा धेरै खर्च गराउन प्रोत्साहन गर्ने नीति रहेका छन्। हाम्रै छिमेकी देश भुटानले पनि न्यूनतम यति खर्च गर्नैपर्ने भनेर प्रावधान नै बनाएको छ’, उनले भने, ‘तर, हामीकहाँ २५ हजारभन्दा धेरै भारतीय मुद्रा ल्याउँदा उल्टै दुःख दिने गरिन्छ। यस्ता समस्याको तत्काल समाधान ननिकाल्ने हो भने खर्च बढ्दैन। पर्यटकले पनि दुख पाउँछन्। त्यसैले नगदको सीमा बढाउने वा सहज वातावरण बनाउनेतर्फ पहल गर्न सरकारसँग मेरो आग्रह छ।’