काठमाण्डौ । नेपाली कांग्रेसका सांसद दीपक गिरीले पुँजीबजारको विकासमा सरकारले ध्यान दिनुपर्ने बताएका छन्।
प्रतिनिधिसभामा मंगलबार सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै सांसद गिरीले पुँजीबजारको विकासका लागि ठोस र रणनीतिक निर्णय लिन ढिला गर्न नहुने बताए। ‘पुँजी निर्माणमा पुँजीबजारको भूमिका भूल्न हुँदैन’, उनले भने।
‘बजारमा लगानीयोग्य रकम छैन। त्यो रकम खोजेर सरकारले पठाउन ढिला भयो’, गिरीले भने, ‘तत्काल बैंकिङ च्यानलमा पैसा पठाऔँ। त्यसका लागि सरकारले ठोस योजना बनाउनुपर्छ।’
अहिलेको मुख्य समस्या धेरैले ब्याजदर भनिरहेका उल्लेख गर्दै गिरीले भने, ‘मलाई त्यस्तो लाग्दैन, ब्याजदर विगतमा पनि २० प्रतिशतसम्म पुगेको थियो। तर बजारमा शून्यता थिएन। अहिलेको सबैभन्दा ठूलो समस्या आमनागरिकले गुमाएको ‘कन्फिडेन्ट’ हो। पैसा कमाएर खर्च गर्दा फरक पर्दैन भन्ने कन्फिडेन्ट नागरिकमा फर्काउन सक्नुपर्छ।’
‘जग्गा र व्यक्तिगत घर कर्जालाई छुट्टाऔँ। घर बनाउने मानिसलाई केही कम ब्याजदरमा कर्जा पाउने आधार तयार गरौँ’, गिरीले भने, ‘यसले हाम्रा उत्पादनमूलक उद्योग चल्छन्। नागरिकले खर्च गर्न थाल्छन्। यसले बजार चलायमान हुन्छ।’
यहीँ उत्पादन हुने वस्तुको आयातलाई निरुत्साहन गर्दै उत्पादन वृद्धिमा जोड दिनुपर्ने गिरीले सरकारलाई सुझाव दिए। ‘स्वदेशी वस्तु २० प्रतिशतसम्म महँगो भए पनि सरकारले प्रयोग गर्ने नीति लिएको छ’, उनले भने, ‘यसले देशको औद्योगिक विकासमा सहयोग पुग्छ।’
निर्यातको सम्भावना बढेर गएका उद्योग समस्यामा छन् भने उनीहरुको कर्जा रिस्ट्रक्चर गर्नुपर्ने अवस्था देखिएको पनि गिरीले बताए। ‘उद्योगलाई दिइने विद्युतको गुणस्तर र मूल्य पनि राम्रो बनाउन सकिएको छैन’, उनले भने, ‘त्यसका लागि बजेटले निर्देश गर्न सक्छ।’
सांसद गिरीले अहिलेको आर्थिक संकटबाट देशलाई बाहिर ल्याउन सरकारले बैंकिङ र शिक्षा क्षेत्रको सुधार गर्नुपर्ने पनि बताए। गिरीले देशको अर्थतन्त्र दिगो बनाउन शिक्षा क्षेत्रको सुधार र दक्ष जनशक्ति उत्पादन पहिलो सर्त रहेको बताए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19