काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले बजेटमार्फत ल्याएको व्यवस्था नबुझ्दा सेयर बजार रातो भएको बताएका छन्। 

आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले सोमबार सार्वजनिक गरिएको अर्थ विधेयकमा पुँजीबजारसँग सम्बन्धित व्यवस्थालाई प्रस्ट पार्दै यस्तो धारणा राखेका हुन्। ‘लगानीकर्तालाई छुट दिइएको छ’, उनले भने, ‘लगानीकर्ताको हित हुने व्यवस्था गरिएको छ। तर लगानीकर्ताले बुझेनन्, त्यसैले आज बजार रातो भयो।’

सरकारले पुँजीबजारसँग सम्बन्धित ल्याएको करसँग सम्बन्धी व्यवस्थाहरु र त्यसमा दिइएको छुटका विषयमा नबुझेको अर्थमन्त्री महतले बताए। ‘थप कर लिन नभई बजारलाई पारदर्शी बनाउने खाले व्यवस्था ल्याइएको छ’, अर्थमन्त्री महतले भने, ‘अहिले ल्याइएको व्यवस्थाबारे नबुझेर बजार प्यानिक भएको हो, यसबारे लगानीकर्तालाई बुझाउने प्रक्रिया जारी छ’, उनले भने। 

वित्तीय गाडीको भन्सार महसुलका विषयमा प्रस्टाउँदै अर्थमन्त्री महतले विद्युतीय गाडीलाई प्रवर्द्धन गर्ने उद्देश्य व्यवस्थाहरु ल्याइएको बताए। ‘निरुत्साहित हुने गरी व्यवस्था ल्याइएको छैन’, उनले भने। 

इन्धन गाडीको तुलनामा विद्युतीय गाडीको प्रयोग नगण्य रहेको अर्थमन्त्री महतले बताए। ‘आयातकर्ताले ठूलो मार्जिन राखेका छन्, त्यो घटाउननतर्फ ध्यान जानुपर्छ’, उनले भने।