काठमाण्डौ । पत्रकारको भेषमा अर्थमन्त्रालयको सुवर्ण हलमा छिरेका केही लगानीकर्ता र आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनालीबीच मंगलबार केहीबेर चर्काचर्की र घम्साघम्सी परेको छ । 

लगानीकर्ताहरुलाई करको मार हुने गरी आर्थिक विधेयकमार्फत व्यवस्था भएको बुझाईका साथ पत्रकार सम्मेलनमा घुसेका लगानीकर्ताका केही नेताले मैनालीलाई कडा प्रश्न राखेपछि केहीबेर घम्साघम्सी परेको हो । 

अर्थमन्त्री डा. प्रकाशशरण महतले हिजो प्रस्तुत बजेटको विषयमा थप प्रष्ट पार्न आज(मंगलबार) दिउँसो २ बजे अर्थमन्त्रालयको सुवर्ण हलमा पत्रकार सम्मेलन बोलाएका थिए । सो सम्मेलनमा कतैबाट सूचना पाई सेयर लगानीकर्ता पनि पुगेका थिए । 

औपचारिक पत्रकार सम्मेलन सकिएपछि केही पत्रकारहरुले सेयर बजारका लगानीकर्ता प्यानिक हुने गरी ल्याइएको व्यवस्थाको विषयमा प्रष्ट पारिदिन आग्रह गर्दै महानिर्देशक मैनालीलाई सुवर्ण हलको कुनामा राखेर अन्तर्वार्ता लिइरहेका थिए । छोटो अवधिको अन्तर्वार्ता सकिनै लाग्दा पत्रकारको भेषमा मन्त्रालय पुगेका लगानीकर्ताले पनि प्रश्न सोध्न थाले ।

सोही क्रममा एक लगानीकर्ताले सोधे-'अर्थमन्त्रीलाई पनि हामीले ७.५ प्रतिशत लाभकर नै अन्तिम हो कि होइन भनेर ३ पटक सोध्यौं, तर प्रष्ट उत्तर आएन । सोधेको कुराको उत्तर त दिनुपर्यो नि ?'

अर्का लगानीकर्ताले अझ एककदम अगाडि बढेर भने-'४० प्रतिशत करको भार लगानीकर्ताले कसरी थेग्न सक्छन् ? कसरी तिर्ने यत्रो कर ?' 

त्यसपछि महानिर्देशक मैलानी केही रिसाए । स्वर केही कडा पार्दै उनले भने-'कहाँ छ ४० प्रतिशत कर तिर्नु भनेर व्यवस्था गरेको ? कुरै नबुझी तपाईहरु प्रस्तुत हुने ? हामीले त लगानीकर्ताको हितलाई हेरेर यो काम गरेका हौं । घाटामा पनि कर तिर्ने व्यवस्थाको अन्त गरेका हौं । बुझ्नै नबुझी कुरा गर्ने ?' 

अर्का लगानीकर्ताले फेरि चर्किएर सोधे-'यो व्यवस्थाका कारण लगानीकर्ताले सुसाइड गर्ने अवस्था आउनसक्छ । भरे राति नै मानिसले सुसाइड गरे भने ?' 

त्यसपछि महानिर्देशक मैनाली रिसाए । थप कड्किदै भने-'राज्यले ल्याएको कुनै नीति नियमको विषयमा कुरै नबुझी कसैले सुसाइड गर्छ भने त्यसको जिम्मा हामीले लिर्नुपर्ने ? पहिला कुरा त बुझ्नुपर्यो होला नि । यो व्यवस्था सहज ढंगले कसरी कार्यान्वयनमा ल्याउने, लगानीकर्ताहरुलाई मार नपर्ने गरी के के गर्ने भन्ने विषय हामी आफैंले निर्धारण गर्ने होइन । लगानीकर्तासँगै छलफल गरेर निर्धारण गर्नेछौं ।' 

त्यसपछि मैनालीसँग गफिइरहेका पत्रकार उठेर हिँडे । 

सुवर्ण हल छाड्दै गर्दा तिनै लगानीकर्ताले आपसमा कुरा गर्दै भनिरहेका थिए-'लगानीकर्ताका अगुवा नेताहरुले पो भ्रम छरेका रहेछन् । फेसबुकमा स्टाटस लेखेर लगानीकर्ता तर्साउने काम गर्दा आज बजारमा निकै ठूलो गिरावट आयो । लगानीकर्ता पनि उस्तै, कुरै नबुझी भेटेरानको पछाडि दौडिने ।'