काठमाण्डौ । स्टक ब्रोकर एसोसिएसन अफ नेपालका निवर्तमान अध्यक्ष सन्तोष मैनालीले ब्रोकर कार्यालयहरु सञ्चालनको वातावरण सरकारले मिलाउनुपर्ने बताएका छन्। 

करको विषयमा आन्दोलनरत लगानीकर्ताहरुले आज बिहानैदेखि विभिन्न ब्रोकर हाउसमा पुगेर तालाबन्दी गर्न थालेपछि निवर्तमान अध्यक्ष मैनालीले यस्ता धारणा राखेका हुन्। 

आन्दोलनरत लगानीकर्ताले लगाएका ताला ब्रोकर सञ्चालकहरुले आफैँले खोल्ने अवस्था नरहेको मैनालीले स्पष्ट पारे। ‘सरकारले ल्याएको कर नीतिमा असन्तुष्टि जनाउँदै लगानीकर्ता साथीहरु आन्दोलनमा उत्रिएका छन्। उनीहरुले टीएमएस बन्द गर्नुका साथै ब्रोकर कार्यालयहरुमा तालाबन्दी गरिरहेका छन्’, उनले भने, ‘त्यसैले ब्रोकर स्वयंले ताला खोल्ने अवस्था छैन।’

सरकार र नियामक निकायले ब्रोकर कार्यालयहरुमा लगाइएको ताला खोल्ने र कार्यालय सञ्चालनको वातावरण बनाउनुपर्ने मैनाली बताउँछन्। ‘यसका लागि आन्दोलन सेयर लगानीकर्ताहरुसँग सरकार र नियमनकारी निकायले वार्ता गर्न आवश्यक छ, उहाँहरुलाई आश्वस्त पार्न जरुरी छ’, उनले भने, ‘त्यसैले ब्रोकर कार्यालयमा लगाइएको ताला स्वयं लगानीकर्ताहरुले नै खोल्ने वातावरण बनाउन आवश्यक छ।’

आफ्ना कर्मचारीको सुरक्षाका लागि आफूहरुले लगानीकर्ताहरुले लगाएको ताला नखोल्ने मैनालीले बताए। 

अहिलेसम्म आन्दोलनर लगानीकर्ताले काठमाण्डौका आधा दर्जभन्दा बढी ब्रोकर कार्यालयहरुमा तालाबन्दी गरिसकेका छन्। गत बिहीबारदेखि बन्द गरिएको टीएमएस खोल्न नदिन लगानीकर्ताहरुको टोली नै आज बिहानैदेखि ब्रोकर कार्यालयहरुमा तालाबन्दी गर्न खटाइएका छन्। 

स्वतन्त्र पुँजीबजार संघका अध्यक्ष रोहन कार्की लगाइएको ताला नखोल्न ब्रोकरहरुलाई आग्रह गरेका छन्। ‘यदि कसैले ताला खोल्छ भने त्यसबाट उत्पन्न हुन सक्ने परिस्थितिको जिम्मेवारी स्वयं तिनै ब्रोकर सञ्चालकले लिनुपर्नेछ’, उनले चेतावनी दिँदै भने।

आर्थिक विधेयकको २९ नं. बुँदा खारेजीको माग लगानीकर्ताहरुले गरेका छन्। उक्त बुँदामार्फत सेयर लगानीकर्तालाई आयकरमा तान्न लागिएको उनीहरुको भनाइ छ। यसअघिको ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम हुनुपर्ने उनीहरुको माग छ।