काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आमनागरिकले प्रयोग गर्ने साना क्षमतामा सवारीसाधनमा कर घटाइएको प्रस्ट पारेका छन्। 

बजेटमा सांसदहरुले उठेका प्रश्नको जबाफ दिने क्रममा आज प्रतिनिधिसभामा अर्थमन्त्री महतले विगतमा १०० किलोवाट देखि २०० किलोवाट क्षमताको सवारीसाधनमा १०० किलोवाटसम्मको तुलनामा अमिल्दो दर भएको देखिएकोले आमनागरिकले प्रयोग गर्ने वर्गमा पर्ने यस्ता साधनको दरसमेत समायोजन गर्न करको दर घटाइएको बताएका हुन्।

‘यस वर्गमा कुनै एक सवारीसाधन नपरी विभिन्न कम्पनीका साधनहरु पर्दछन्। आर्थिक ऐन, २०७९ बाट भएको करको दरमा परिवर्तन हुनुभन्दा अगाडि आर्थिक वर्ष २०७८–७९ मा आयात भएका १८०७ वटा सवारीसाधनमध्ये ७९२ वटा करिव ४३ प्रतिशत सवारीसाधन यसै वर्गका थिए’, उनले भने, ‘चालु आर्थिक वर्षमा १०० किलोवाटसम्मका सवारीसाधनलाई मात्र प्रोत्साहन गर्ने नीति अवलम्बनका कारण अधिकांश सवारीसाधन १०० किलोवाटसम्मका सवारीसाधनमात्र आयात भएको देखिएको छ। सरकारको विद्युतीय सवारीसाधनलाई प्रोत्सान गर्ने नीतिकै कारण सवै क्षमताका साधनको दरमा समानुपातिक, वैज्ञानिक र प्राकृतिक देखिने गरी समायोजन गरिएको हो।’