काठमाण्डौ। स्थानीय ग्राहकको दैनिक आवश्यकिय सामग्री तथा वस्तु एकैठाउँमा उपलब्ध गराउने उद्देश्यले काठमाण्डौको जोरपाटीमा साना–साना बिक्रेतालाई एकीकृत गरी सानो बजार सञ्चालनमा आएको छ। यसलाई टेवा पुर्याउनका साथै कारोबारलाई थप व्यवस्थित गर्न कुमारी बैंक लिमिटेडले सानो बजारका व्यवसायीका लागि क्यूआर सुविधा ल्याएको छ।

आफ्नो मोबाइल फोनबाटै सहज रुपले भुक्तानी गर्न सकिने यो क्यूआर सुविधा सानो बजारका लागि सहज कारोबारको विकल्प बन्नेमा बैंक विश्वस्त छ। यसै क्यूआर सुविधालाई टेवा पुर्याउन र डिजिटल प्रबिधिको प्रयोगलाई प्रोत्साहन गर्नका लागि कुमारी बैंकले सानो बजारमा निःशुल्क वाईफाई सुविधा पनि उपलब्ध गराएको छ। 

यसका साथै कुमारी बैंकले यी बिक्रेताको सुरक्षाका लागि सानो बजारमा सीसी क्यामेराको पनि व्यवस्था गरेको छ।

सानो बजारको उद्घाटन समारोहमा मुख्य अतिथिका रुपमा प्रतिनिधिसभाका सदस्य सन्तोष चालिसे, प्रतिनिधिसभाका सदस्य शान्ति श्रेष्ठ तथा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपककुमार रिसाल, उपप्रमुख सान्नानी लामा, वडा नं ५ का वडा प्रमुख नारायणबहादुर सुवेदी, वडा नं ६ का वडा प्रमुख नवराज लामा, पूर्वसंघीय सांसद कृष्ण राई तथा कुमारी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश अर्याललगायत स्थानीय व्यवसायी तथा अन्य अतिथिको उपस्थिति थियो।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४८ एक्सटेन्सन काउन्टर, २९६ एटीएम तथा ६३ शाखारहित बैंकिङ इकाइसहितका सञ्जालमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ। आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका लागि सहकार्यहरु गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ।