काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले मुलुकभरका सुकुमबासीहरुको व्यवस्थापनको काम क्रमबद्धरुपमा भइरहेको बताएकी छन्। 

मंगलबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत सांसदले उठाएका प्रश्नहरुको जबाफ दिँदै मन्त्री चौधरीले यस्तो जानकारी गराएकी हुन्। उनले भूमिहीन दलित, सुकुमबासी, अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्न राष्ट्रिय भूमि आयोगबाट कार्य भइरहेको बताइन्। कमैया, कमलरीलगायतका विषयको सम्बोधनका लागि कार्यविधि तयार गरी स्थानीय तहमार्फत कार्य अगाडि बढाइने उनले जानकारी दिए। 

यस कार्यलाई सबै प्रदेश सरकारसँग समेत समन्वयको कार्य बढाउने कार्यक्रम रहेको मन्त्री चौधरीको भनाइ थियो। 

सांसद बलराम भण्डारीले सरकारले जग्गा किनबेचमा किन रोक लगाएको भनी गरेको प्रश्नमा मन्त्री चौधरीले सरकारले जग्गा किनबेचमा रोक नलगाएको प्रस्ट पारिन्। उनले भूमिको दिगो विकास र उपयुक्त व्यवस्थापनका लागि भूउपयोग नियमावली जारी भएको र त्यसको संसोधनको तयारी भइरहेको समेत जानकारी दिइन्।