काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिले अर्थतन्त्रको समग्र अवस्था सकारात्मक बाटोमा उन्मुख रहेको तर समस्यामुक्त भने भइनसकेको बताएका छन्। 

मंगलबार संसदको अर्थसमितिमा अर्थमन्त्री महतले यस्तो जानकारी गराएका हुन्। ‘कुनै पनि देश अर्थतन्त्र समस्यामुक्त हुँदैन, समस्या आइरहन्छ’, उनले भने, ‘समाधानको बाटो पहिल्याउँदै जानुपर्छ।’

मन्त्री महतले भने, ‘हामीले २००७ सालपछि मात्रै भौतिक विकासको सुरु गरेका हौँ। यो कालखण्डमा हामीले राजनीतिक आरोह–अवरोहबाट गुज्रिनुपरेकाले हामी भौतिक विकासमा हामी धेरै पछाडि छौँ।’

आवश्यकताको तुलनामा पूरा गर्न नसकेका कुरा धेरै रहेको पनि अर्थमन्त्री महतले बताए। ‘माग धेरै छ, पूरा गरेका कुरा कम छ। यसर्थ असन्तुष्टि आउनु स्वभाविक हो’, उनले भने, ‘धेरै कुरा हामीले निर्णायक रुपमा सुधार गरेर लैजानुपर्छ। समग्र राज्य संरचना, आमनागरिकलगायत हामी सबैको सक्रियता जरुरी छ।’

सांसदहरुले उठाएको प्रश्नको जबाफ दिने क्रममा मन्त्री महतले अर्थतन्त्र चलायमान बनाउन अर्थ मन्त्रालय समन्वयकारी भूमिकामा रहेको बताए। ‘केही ठाउँमा यसले अगुवाइ पनि गरेको छ, सबैको समन्वय र क्रियाशीलताले समस्या हामी न्यून गर्दै जान्छौँ’, उनले भने, ‘समस्या न्यून गरियो भने हामी विकास र समृद्धिको बाटोमा अगाडि बढ्न सक्छौँ।’

राजस्व उठ्ने विषयमा समस्याहरु देखिएको छ तर प्रगति भएको पनि अर्थमन्त्री महतले बताए। ‘राजस्व संकलनमा संशोधित लक्ष्य निर्धारण गरेअनुसार उठाउन सकेका छैनौँ, प्रगति भएको छ’, उनले भने, ‘हामीले गत वर्षभन्दा ०.५२ प्रतिशत बढी उठाउन सक्छौँ। कसिलो मौद्रिक नीति राष्ट्र बैंकले अपनायो, जसले गर्दा आवश्यक मुद्रा प्रवाह हाम्रो अर्थतन्त्रमा भएन। ब्याजदर बढ्यो, यसले गर्दा निजी क्षेत्रबाट लगानी बढेन, पुँजीगत खर्च त्यही रुपमा हुन सकेन। जसले गर्दा अर्थतन्त्र भनेजति चलायमान भएन।’

‘एकातिर आयात कम हुँदा भन्सार कम उठ्यो, अर्कोतिर आन्तरिक अर्थतन्त्र चलायमान भएन, जसले गर्दा भन्सार लक्ष्यअनुसार उठेन, गैरकर गत वर्षभन्दा ११.८८ प्रतिशत बढी उठेको छ’, महतले भने, ‘जो सम्पन्न छ, कर तिर्नुपर्ने स्थितिमा छ, उनीहरुलाई करको दायरामा ल्याएका छौँ। यसले गर्दा हामी आगामी वर्ष राजस्व बढाउन सक्छौँ।’

आउँदो वर्ष देशको अर्थतन्त्र चलायमान हुने संकेतहरु देखिन थालेको मन्त्री महतले बताए। ‘मौद्रिक नीतिका लागि हामीले राष्ट्र बैंकलाई भनेका छौँ, समयसीमाभित्र बजेट कार्यान्वयनका लागि हामीले कर्मचारीलाई निर्देशन गरिसकेका छौँ’, उनले भने।

राज्यले क्षमताभन्दा पनि बढी सामाजिक सुरक्षामा खर्च गरेको पनि अर्थमन्त्री महतको भनाइ थियो। ‘पछाडि परेको समुदाय, ज्येष्ठ नागरिकलगायत सबैलाई हामी सामाजिक सुरक्षा खर्च दिन्छौँ। यसबाट हामी पछाडि फर्किन सक्दैनौँ’, उनले भने, ‘अब निर्णय गर्दा विचार गर्नुपर्छ, अब तल्लो वर्ग, समूह विपन्न वर्गको तथ्यांक आउँदैछ, जो निश्चित आयभन्दा तल छ, उनीहरुलाई लक्षित गरेर हामी सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्छौं। जसलाई आवश्यक छ, उसलाई सामाजिक सुरक्षा, अनुदान अथवा भत्ता त्यहाँ जाने भयो, जसलाई आवश्यक पर्दैन, त्यहाँ हामीले थप खर्च गर्नुपर्दैन। यो भयो भने हामी आउँदा दिनमा खर्च व्यवस्थापन सहज रुपमा कार्यान्वयन गर्न सक्छौँ।’

मन्त्री महतले प्रशासनिक खर्च घटाउन सबैलाई समर्पित लाग्न आग्रह गरे। ‘साना–साना बचतबाट हामीले ठूलो बचत गर्न सक्छौँ। बचत गर्ने काममा हामी सबै गम्भीर भइयो भने ठूलो बचत हुन्छ’, उनले भने, ‘यो ठूलो बचतलाई हामी सही ठाउँमा उपयोग गर्न सक्छौँ। यसो भयो भने स्रोत र साधनको हाहाकार रहँदैन।’