 
                     
                                
                             
                                    काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा प्रस्तुत मिटरब्याजीहरुलाई कारबाही गर्ने ऐन रोक्न प्रतिपक्षी दलले संसद अवरोध गर्न खोजेको बताएका छन्।
माओवादी केन्द्र सम्बद्ध युवा महिलाहरुको बुधबारको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘मैले एउटा पुस्तक विमोचनमा सन्दर्भवश भनेको कुरालाई बंगाएर संसद अवरुद्ध गर्ने कोसिस हुँदैछ। खासमा यसको अर्थ अर्कै छ। मिटरब्याजीहरुलाई कारबाही गर्ने ऐन आज संसदबाट पास हुने कार्यसूची थियोे। कतिपय दललाई मिटरब्याजीलाई कारबाही गर्न खोजेको कुरा मन परेको छ। भ्रष्टाचारीलाई कारबाही गर्ने कुरा मन परेको छैन। यसलाई रोक्न संसद अवरुद्ध गरिँदैछ।’
‘हामी एउटा लडाइँमा छौँ, सुशासनको लडाइँ, भ्रष्टाचारविरुद्धको लडाइँ, यो लडाइँमा हामी जित्छौँ’, प्रधानमन्त्री दाहालले भने, ‘विगतमा हामी विभाजित भयौँ, त्यसले कमजोर पनि भयौँ। तर, अहिले परिस्थिति फेरिएको छ। माओवादी धाराका सबै शक्तिहरु एकताबद्ध हुँदैछौँ। २०८४ मा हामी २०६४ भन्दा शक्तिशाली बन्छौँ।’
युवाहरुलाई संगठित गर्ने र प्रशिक्षित गर्ने कुरा महत्वपूर्ण रहेको दाहालले बताए। ‘युवाहरुमा विश्वास गरेर हामी नयाँ ढंगले अगाडि बढ्छौँ’, उनले भने, ‘तपाइँ महिला युवाहरु पनि देशको सुशासनको पक्षमा, सामाजिक न्यायको पक्षमा, समृद्धिको पक्षमा लाग्नुस्।’
प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण अत्यन्तै उपलब्धिमूलक भएको बताए। ‘विद्युत व्यापार सम्झौता सामान्य कुरा होइन। १० वर्षमा १० हजार मेगावाट विद्युत बेच्दा देशको समृद्धि नयाँ ठाउँमा पुग्छ’, उनले भने, ‘सीमा समस्या दीर्घकालीन रुपमा समझदारी गर्ने कुरा गरिएको छ। यो अत्यन्तै महत्वपूर्ण कुरा हो।’
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19