काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई) अन्तर्गतको पुँजी बजार फोरमको सदस्यमा सागर ढकाल चयन भएका छन् । 

धितोपत्र ब्रोकर एसोसिएसन नेपालका अध्यक्ष समेत रहेका ढकालको नेपालको पुँजी बजारमा डेढ दशकभन्दा बढी समयको योगदान रहेको छ । 

ढकाललाई उक्त फोरमका सभापति शैलेन्द्र गुरागाईँको सिफारिसमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले सदस्यमा नियुक्त गरेका हुन् । 

लामो समयदेखि नेपालको पुँजी बजारलाई नजिकसँग बुझेका ढकालको नियुक्तीसँगै आगामी दिनमा पुँजी बजारलाई सुदृढ गर्दै सशक्त रुपमा अघि बढाउन मद्दत पुग्ने महासंघको विश्वास रहेको छ ।

ढकाल भर्खरै मात्रै धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेञ्जबाट संचालन अनुमति पाएको हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) को समेत अध्यक्ष हुन् ।

नयाँ ब्रोकरले लाईसेन्स अनुमति पाउनुमा ढकालको उल्लेखनीय योगदान रहेको छ । 

ढकालसँग हालसम्म आधादर्जन वित्तीय संस्थामा संचालकको रुपमा रहेर काम गरेको अनुभव रहेको छ । व्यवस्थापनमा स्नातकोत्तर हासिल गरेका ढकाल कानुनविद समेत हुन् । हाल उनी पाटन उच्च अदालतका बारको कार्यकारी सदस्य समेत रहेका छन् । 

आफू पुँजीबजार फोरमको सदस्य भएसँगै आगामी दिनमा लगानीकर्ताको मनोवल उकास्दै नेपालको सेयर बजारलाई थप सुदृढ र विश्वसनीय बनाएर अघि बढाउन पहल गर्ने उनले बताए ।

‘हितग्राही खाताको आधारमा ५६ लाखभन्दा बढी लगानीकर्ता आवद्ध रहेको सेयर बजार अहिले सिथिल भएको छ,’ उनले भने, ‘आगामी दिनमा लगानीकर्ताको मनोवल उच्च बनाउँदै सेयर बजारको वृद्धि र विकासमा लाग्नेछु ।’