काठमाण्डौ । काठमाण्डौको सिनामंगलबाट बरामद अवैध रुपमा भित्रिएको सुन आज जोख्नका लागि नेपाल राष्ट्र बैंक लगिने भएको छ। यो प्रकरणमा ६ जना पक्राउ परेका छन्। 

हङकङबाट ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भएर मंगलबार राति सिनामंगलको सडकसम्म पुर्याइसकेको अवस्थामा करिब १ क्विन्टल सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो। विभागका अनुसार पक्राउ पर्नेमा एक भारतीय नागरिकसहित ६ जना छन्।

यो प्रक्रमणमा थुप्तेन छिरिङ नाम गरेका तिब्बती मूलका भारतीय नागरिक, सुनले भरिएको स्कुटरको ‘ब्रेक सु’ आयातकर्ता कम्पनी रेडी ट्रेडर्सका सञ्चालक दिलीप भुजेल, सुन पास गराउन सहयोग गर्ने उनका मामा रामकुमार भुजेल र कम्पनी स्थापना गर्न सघाएका हर्कराज राईलाई विभागले नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने अन्य दुईजना भने भन्सार एजेन्ट र ट्याक्सी चालक रहेको विभागले जनाएको छ। 

बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाण्डौ आएको थियो। मोटरसाइकल र स्कुटरको ब्रेक सुभित्र लुकाएर ल्याएको सुन भन्सार जाँचपास गरेर कटेको सूचना पाएपछि राजश्व अनुसन्धान विभागले बरामद भएको थियो।

करिब १ क्विन्टल सुन बरामद भएको भनिए पनि परिमाण अझै यकिन भइसकेको विभाग स्रोत बताउँछ। ‘बरामद सुनको जोख्न आज राष्ट्र बैंक लैजाने तयारी भइरहेको छ’, स्रोतले भन्यो। 

यदि बरामद सुन १ क्विन्टलकै हाराहारीमा रहेको पुष्टि भएमा सम्भवतः नेपालमा एकैपटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हुनेछ। यसअघि २०७४ भदौमा चिनियाँ तस्करले भित्र्याएको ८८ केजी सुनसहित काठमाण्डौको क्षेत्रपाटीबाट बरामद भएको थियो।