काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले अन्तर्राष्ट्रिय व्यापार पहुँच एवं भन्सार प्रक्रियाबारे युवा उद्यमीहरुलाई प्रशिक्षण दिएको छ। 

विश्व बजारमा भन्सारको प्रक्रिया, निर्यातजन्य वस्तुहरुको हार्मोनिक कोडलगायतका प्राविधिक विषयमा चेम्बरले करिब ५० जना युवा उद्यमीलाई प्रशिक्षण दिएको हो। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्राविधिक सहयोगमा चेम्बरले ४ दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रमको समापन समारोहलाई सम्वोधन गर्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले युवा उद्यमीहरुलाई निर्यात प्रवर्द्धनमा सहयोग पुर्याउनका लागि प्रशिक्षण आयोजना गरिएको जानकारी दिए। मुलुकभित्र रहेका प्राकृतिक स्रोतको उच्चतम प्रयोग गरेर निर्यात प्रवर्द्धनमार्फत व्यापार घाटा कम गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए। ‘आयात र निर्यातबीचको असन्तुलनका कारण व्यापार घाटा ९ गुणासम्मले वृद्धि भएको छ’, उनले भने, ‘आन्तरिक उत्पादन वृद्धि गरेर निर्यात प्रवर्द्धनका लागि युवा उद्यमीलाई आर्कषित गराउन आवश्यक छ।’

मुलुकभित्र प्राकृतिक स्रोत र साधनको उच्चतम प्रयोग गरेर वस्तुहरु उत्पादन एवं निर्यात प्रवर्द्धनका लागि चेम्बरले आफ्नो लोगो उपलव्ध गराउनेसमेत अध्यक्ष मल्लले प्रतिबद्धता जनाए। 

निर्यात अभिवृद्धिका लागि भन्सार सहजीकरण एवं मुख्य–मुख्य नाकामा अन्तर्राष्ट्रियस्तरको क्वारेन्टिन ल्याब स्थापना गर्नुपर्ने अध्यक्ष मल्लले बताए। निर्यात प्रवर्द्धनका लागि उत्पादिन वस्तुहरुको प्याकेजिङ र ब्रान्डिङमा समेत चेम्बरले सहयोग गर्ने उनले जानकारी दिए। 

अन्तर्राष्ट्रिय व्यापार पछिल्लो समय डिजिटल युक्त बन्दै गएकाले अनलाइन डेलिभरीलाई व्यवस्थित बनाउनुपर्ने मल्लको भनाइ थियो। भन्सारमा कारोबार मूल्यलाई मान्यता दिई सन्दर्भ मूल्यलाई खारेज गरिनुपर्नेमा उनले जोड दिए। 

चेम्बरले व्यापार सहजीकरणका लागि प्रत्येक वर्ष युवा उद्यमी लक्षित विभिन्न कार्यक्रम गर्ने पनि अध्यक्ष मल्लले जानकारी दिए।