काठमाण्डौ । काठमाण्डौमा लघुवित्तविरुद्ध आन्दोलन पक्षसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ। 

अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख सहसचिव भुपाल बरालको संयोजकत्वमा वार्ता समिति गठन भएको हो। अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्माद्वारा विज्ञप्तिमा अर्थमन्त्रीस्तरको निर्णयबाट गठन भएको वार्ता समितिमा गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा नेपाल राष्ट्र बैंकका प्रतिनिधि पनि सदस्य रहनेछन्।

समितिले लघुवित्तविरुद्ध संघर्षरतसँग वार्ता तथा छलफल गरी समाधानका लागि पहल गर्ने विज्ञप्तिमा उल्लेख छ। 

यसअघि नेपाल राष्ट्र बैंकले लघुवित्तका ऋणीहरुको समस्या समाधान गर्न छुट्टै गुनासो डेस्क स्थापना गरेको छ। लघुवित्तका ऋणीहरुलाई कुनै गुनासो भए उक्त डेस्कमा पेस गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।