काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले तत्काल बजार अनुगमन तीव्र बनाउन मातहतका निकायलाई निर्देशन दिएका छन्। 

मंगलबार मन्त्रालयमा आयोजित ‘चामललगायत अन्य दैनिक अत्यावश्यक खाद्यवस्तुमा भएको मूल्यवृद्धि, दुर्गम क्षेत्रमा खाद्यान्न आपूर्ति तथा बजारको नियमन’सम्बन्धी विषयको समीक्षा कार्यक्रममा मन्त्री रिजालले यस्तो निर्देशन दिएका हुन्। उनले अनुगमनलाई निरन्तरता दिन, बजारमा मूल्यवृद्धि हुन नदिन, चाडपर्वलाई समेत ध्यान दिई आपूर्ति व्यवस्थालाई सरल, सहज, नियमित र सर्वसुलभ बनाउन तथा बजारको अनुशासन कायम गर्न सम्बद्ध सबैलाई आ–आफ्नो क्षेत्रबाट आवश्यक सहयोग र समन्वय गरी कार्य गर्न निर्देशन दिए। 

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवहरु, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशकहरु, मन्त्रालयका सहसचिवहरु तथा आपूर्तिसँग सम्बन्धित संस्थानहरुका प्रमुखहरुको उपस्थिति थियो । आसन्न चाडपर्वको समयमा खाद्यान्नको पर्याप्त उपलब्धता, दुर्गम क्षेत्रमा खाद्यान्नको आपूर्ति व्यवस्था तथा खाद्य सुरक्षा प्रत्याभूतिका लागि पर्याप्त मौज्दात राख्नेसम्बन्धी विषयमा समेत कार्यक्रममा छलफल भएको थियो। 

कार्यक्रममा बजार अनुगमन निर्देशिका, २०७९ बमोजिम संयुक्त र विषयगत टोलीबाट बजारको नियमित रुपमा अनुगमन गर्ने, कार्ययोजना सहित बजार अनुगमनलाई थप प्रभावकारी बनाउने, बजारमा देखिएको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणको लागि सबै सम्बद्ध निकायबाट समन्वय तथा सहकार्य गर्ने, अत्यावश्यक वस्तुहरुको आपूर्ति र खाद्य सुरक्षाका लागि खाद्यान्नलगायतका वस्तुको तोकिए बमोजिमको मौज्दात कायम राख्ने र स्थानीय बजार व्यवस्थापनको लागि सबै स्थानीय तहलाई अत्यावश्यक वस्तुको आपूर्ति, गुणस्तर, परिमाण र मूल्यका सम्बन्धमा नियमित बजार अनुगमनको व्यवस्था मिलाउन आवश्यक सहजीकरण गर्ने विषयमा पनि छलफल गरिएको थियो।