काठमाण्डौ । सेयर बजार बुधबार पनि दोहोरो अंकले ओरालो लागेको छ। 

बजार आज २०.३१ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २०२५.१२ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.५४ अंकले घटेर ३८६.३० को विन्दुमा ओर्लेको छ। कारोबार रकम हिजोको तुलनामा घटेको छ। आज पौने २ अर्ब रुपैयाँको हाराहारीमा मात्रै कारोबार भएको छ। 

बजार जानकार सरोज भट्टराई लगानीकर्तामा ब्याजदरको विषय अन्यौलता देखिँदा केही दिनदेखि बजार घटिरहेको बताउँछन्। ‘यसपालि सिजनमा पनि बजार बढ्न सकेन’, उनले भने, ‘किनकि बजारमा राष्ट्र बैंकको नीतिगत प्रभाव पनि पर्यो। मौद्रिक नीति केही खुकुलोजस्तो देखिए पनि ठूला लगानीकर्ताले रुचाएनन्। जोखिम भार र १२ करोडको सीमा खासै लचक देखिएन।’

प्रिमियममा आईपीओ जारी हुनु र त्यस्ता कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनसाथै लगानीकर्ताले केही बढेको बेला बेच्नुले पनि बजारबाट पैसा बाहिरिँदा नकारात्मक प्रभाव परेको भट्टराई तर्क छ। 

अर्का बजार जानकार सूर्यनारायण पौडेल सबैतिर नेगेटिभ सेन्टिमेन्ट चल्दा बजार घटेको बताउँछन्। ‘बैंकहरुको रिपोर्ट सन्तुलित आए पनि लघुवित्त र जलविद्युत कम्पनीहरुको रिपोर्ट सन्तोजनक आएन’, उनले भने, ‘यसले पनि बजार प्रभावित भएको छ।’

अहिले अल्पकालीन लगानीकर्ता हावी हुँदा पनि बजार घटेको पौडेलको भनाइ छ। ‘तर, बजार घट्नुको मुख्य कारण भनेको राष्ट्र बैंकको नीति र ब्याजदरको विषय नै हो’, उनले भने। 

पौडेलको विचारमा बजार घटे पनि १९६० भन्दा तल जाँदैन।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। 

यो दिन जलविद्युत समूह सर्वाधिक १.८५ प्रतिशतले ओरालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह १.५८ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.७३ प्रतिशत, विकास बैंक समूहमा ०.५० प्रतिशत, वित्त समूहमा १.३५ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.०१ प्रतिशत, लगानी समूहमा ०.४९ प्रतिशत, जीवन बीमा समूहमा ०.८५ प्रतिशत, लघुवित्त समूहमा १.२० प्रतिशत, म्युचुअल फन्ड समूहमा १.१८ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.८९ प्रतिशत, अन्य समूहमा १.२६ प्रतिशत र व्यापार समूहमा १.२४ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २६९ कम्पनीका ४८ लाख ३८ हजार १०६ कित्ता सेयर १ अर्ब ६७ करोड ९९ लाख ८० हजार ६२३ रुपैयाँमा कारोबार भएका छन्। 

यो दिन हिमालयन डिस्टिलरीको सर्वाधिक ८ करोड ४१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम सिमेन्टको ७ करोड १४ लाख रुपैयाँबराबरको कारोबार भएको आज आईएमई लाइफको ५ करोड ९६ लाख रुपैयाँ, सोल्टी होटेलको ५ करोड ९४ लाख रुपैयाँ, घोराही सिमेन्टको ४ करोड ९० लाख रुपैयाँ, नेपाल टेलिकमको ४ करोड ३९ लाख रुपैयाँ, एभरेस्ट बैंकको ३ करोड २० लाख रुपैयाँ, इमर्जिङ नेपालको ३ करोड १७ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड १६ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको ३ करोड १५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज बलेफी हाइड्रोपावर र स्वरोजगार लघुवित्तका सेयरधनीहरुले धेरै कमाए। यी कम्पनीको सेयरभाउ ४ प्रतिशतको हाराहारीमा उकालो लागेको छ। 

यो दिन माउन्टेन हाइड्रो र श्वेत–गंगा हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यी कम्पनीको सेयरभाउ ८ प्रतिशत बढीले ओरालो लागेको छ।