काठमाण्डौ । विश्वमै आपूर्तिभन्दा माग धेरै भएको विषयका रुपमा कहलिएकोे र आकर्षक कमाइ हुने एक्चुअरियल साइन्स विषयको पठनपाठन नेपालमा हुँदै आएको छ। भविष्यमा आउने जोखिम व्यवस्थापन गर्ने वा रणनीति बनाउने विशेषज्ञ नै एक्चुअरी हो। 

विश्वमै उत्कृष्ट पेसाका रुपमा लिइने एक्चुअरीको संख्या नेपालमा भने शून्य अवस्थामा रहेको छ। एकातिर एक्चुरीको अभावले नेपालका बीमा कम्पनीहरुले समयमा प्रतिवेदन तयार गर्न नसकेको अवस्था छ भने अर्कोतिर एनएफआरएस प्रणालीमा प्रतिवेदन निकाल्नुपर्ने र विगतभन्दा चुक्तापुँजी कोषसमेत वृद्धि भएकाले बैंक तथा बीमा कम्पनीहरुमा एक्चुअरीको अभाव दिनप्रतिदिन खड्किएको छ। 

बीमा व्यवसायका महत्वपूर्ण कार्यहरु बीमालेख तयार पार्न, बीमाशुल्क निर्धारण गर्न, बीमा दाबी पर्न सक्ने संख्याको पूर्वानुमान, कम्पनीको सम्पत्ति तथा दायित्वको अवस्थाको मूल्यांकन, बीमितलाई प्रदान गर्नुपर्ने बोनसदर निर्धारण गर्न एक्चुअरीको आवश्यकता पर्दछ। बीमांकीय मूल्यांकन जीवन बीमा कम्पनीहरुका लागि अपरिहार्य रहेको छ भने निर्जीवन बीमामा समेत यसको आवश्यकता पर्दछ।  

बीमाबाहेक बैंक, सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषका साथै लगानी व्यवस्थापन गर्ने निकायमा समेत यसको आवश्यकता पर्दछ। 

नेपालमा पहिलोपटक गणित विज्ञान स्कुलले २०७३ सालदेखि एक्चुअरियल साइन्स विषयको पठनपाठन सुरु गरेको छ। यस स्कुलबाट पासआउट भएका विद्यार्थीहरु के गर्छन् भन्ने विषयमा कार्यक्रम संयोजक केशवराज फुलाराले अहिलेसम्म स्नातक तह पास गरेका विद्यार्थीहरुमध्ये केही उच्च शिक्षा हासिलका लागि अमेरिका, युरोप, अस्ट्रेलिया र धेरैजसो विद्यार्थीहरु नेपाल तथा भारतका विभिन्न कम्पनीहरुमा कार्यरत छन्। 

कक्षा १२ को नतिजा प्रकाशनपश्चात विद्यार्थीमा के पढ्ने र कता पढ्ने भन्ने अन्यौलता छ। केही विद्यार्थी नेपालमा भविष्य नै छैन भन्ने सोचका कारण विदेश जाने तयारी गरिरहेका छन् भने केही नेपालमै पढ्ने भन्ने सोचका साथ अनेक विषयहरु वा कार्यक्रमहरुका बारेमा बुझ्न थालेका छन्। 

विभिन्न विश्वविद्यालयका अनेक कार्यक्रमहरु जस्तै त्रिभुवन विश्वविद्यालयअन्तर्गत गणित विज्ञान स्कुलले सञ्चालन गरेको एक्चुअरियल साइन्स कार्यक्रम पनि विद्यार्थीका लागि राम्रो गन्तव्य हुनसक्छ। विभिन्न अनुसन्धानअनुसार विश्वमै उत्कृष्ट एंव जागिरका लागिसमेत १–२ नम्बरमा आउन सफल एक्चुअरियल साइन्सको मागसमेत दिनप्रतिदिन बढ्दै गइरहेको छ। नेपालको एकमात्रै ठाउँमा अध्यापन गराइने यो कोर्सका बारेमा धेरै विद्यार्थी तथा अभिभावक अनभिज्ञ भएकोले जानकारीका लागि यो समाचार तयार पारिएको छ। 

न्यूनतम योग्यता 

कक्षा १२ वा सोसरहको परीक्षामा जुनसुकै संकायवाट १०० पूर्णांकको गणित वा वाणिज्य गणित अध्ययन गरी द्वितीय श्रेणी वा हरेक विषयमा अन्तिम ग्रेड सी ल्याएका विद्यार्थीले भदौ ४ गतेदेखि २६ गतेसम्म www.smstu.edu.np बाट अनलाइन फारम भर्न सक्नेछन्। फारम भर्दा एसईई र १२ कक्षाको मार्कसिट, एकप्रति रंगिन फोटोसहित प्रवेश परीक्षाबापतको रकम रु. २ हजार स्कुलको खातामा जम्मा गरेको भौचर अपलोड गर्नुपर्नेछ। आवेदन स्वीकृत भएपश्चात ई–मेलबाट जानकारी गराइनेछ। 

प्रवेश परीक्षा 

प्रवेश परीक्षाअन्तर्गत तीनचरणको जाँच लिइनेछ। पहिलो चरणमा आवेदन दिएका सम्पूर्ण विद्यार्थीलाई ८० पूर्णांकको लिखित परीक्षामा सामेल गराइनेछ। जसमा कक्षा १२ वा सोसरहको गणित वा वाणिज्य गणितको ४० पूर्णांकको ४० वटा, अंग्रेजी विषयको २० पूर्णांकको २० वटा र २० पूर्णांकको २० वटा सामान्यज्ञानको गरी ८० वटा बहुवैकल्पिक प्रश्नहरुको १ घन्टा ४५ मिनेटको लिखित परीक्षा सञ्चालन गरिनेछ। लिखित परीक्षा उत्तीर्ण भएका विद्यार्थीको १० पूर्णांकको अन्तर्वार्ता र १० पूर्णांकको शैक्षिक योग्यताबापतको मूल्यांकन गरिन्छ। 

तीनवटै परीक्षाको तालिकीकरण गरी १०० पूर्णांकको मेरिट लिस्ट तयार गरिन्छ। स्कुलले त्रिवि सेमेस्टर प्रणाली सञ्चालन विनियम २०७४ अनुसार निर्धारित ४० जनाको सिटमा ८० प्रतिशत (३२ जना) खुलाबाट र २० प्रतिशत (८ जना) समावेशी कोटाका आधारमा भर्ना गरिन्छ। 

छात्रवृत्ति 

यो कोर्स पूरा गर्न ८ सेमेस्टरको मोटामोटी ५ लाख ५० हजार शुल्क लाग्छ। केही रकम भर्ना गर्दा र बाँकी रकम हरेक सेमेस्टरको सुरुमा नै किस्तावन्दी रुपमा तिर्नुपर्छ। छात्रवृत्ति विज्ञान तथा प्रविधि अध्ययन संस्थान, त्रिविको ‘छात्रवृत्तिसम्बन्धी कार्य निर्देशिका, २०७९’ अनुसार दिइनेछ। उत्कृष्ट नतिजा प्राप्त गर्ने एकजना छात्र र एकजना छात्रालाई जेहेन्दार छात्रवृत्ति दिइनेछ र १० प्रतिशत विद्याथीलाई निःशुल्क छात्रवृत्ति प्रदान गरिनेछ। 

मूल्यांकन 

सेमेस्टर प्रणालीअनुसार अध्यापन गराइने यो कोर्सको ४० प्रतिशत आन्तरिक र ६० प्रतिशत बाह्य मूल्यांकनका आधारमा गरिन्छ। ३० पूर्णांकको आन्तरिक मूल्यांकन गरिन्छ र ४५ पूर्णांकको सेमेस्टरको अन्तिम परीक्षा विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयले लिने गर्छ। 

शैक्षिक पात्रो 

सेमेस्टरको सुरुमा भर्ना हुनेबित्तिकै सम्बन्धित विद्यार्थीलाई एकेडेमिक क्यालिन्डर (शैक्षिक पात्रो) दिइनेछ। सम्पूर्ण शैक्षिक गतिविधि सोही पात्रोअनुसार सञ्चालन गरिनेछ। अन्य कुरा यथावत रहेमा ४ वर्षको कोर्सको कार्यक्रम ठीक ४ वर्षभित्रमै विद्यार्थीले उक्त लेवलको प्रमाणपत्र पाइसक्नेछन्। हरेक सेमेस्टरको अन्तिममा लिएको जाँचको नतिजासमेत बढीमा १ महिनाभित्रै प्रकाशन भइसक्नेछ। 

कोभिडका कारणले पनि यस स्कुलमा सञ्चालित कुनै पनि कार्यक्रम ५ महिनाभन्दा ढिलो भएको छैन। समयमा भर्ना, समयमै कक्षा, समयमै परीक्षा र समयमै नतिजा निकाल्नु यस स्कुलको लक्ष्य रहेको छ।