काठमाण्डौ । पुँजीबजार सुधारका लागि कतैबाट पहल नभएपछि लगानीकर्ताहरु रुष्ट बनेका छन्। लामो समयदेखि पुँजीबजार शिथिल बन्दा उनीहरु रुष्ट बनेका हुन्। 

नेपाल सेयरधनी संघका अध्यक्ष नानीबाबु खरेलको आह्वानमा आज काठमाण्डौमा भेला भएका लगानीकर्ताहरुले पुँजीबजार लामो समयदेखि शिथिल बन्दा पनि सरकार र नियामक निकायले सुधारका लागि खासै पहल नगरेकोमा असन्तुष्टि जनाएका हुन्। भेलामा सहभागी लगानीकर्ता हरिकुमार कार्कीले अर्थमन्त्रीले सेयर लोनमा १२ करोड क्याप हटाउन राष्ट्र बैंकलाई गरेको आग्रह र स्थानीय तहका फन्डको ६० प्रतिशत रकम बैंकहरुले निक्षेपका रुपमा गणना गर्न पाउने निर्णय गर्दा पनि कार्यान्वयन हुन नसकेकोमा आपत्ति जनाए। ‘अर्थमन्त्रीले सदनदेखि विभिन्न सार्वजनिक कार्यक्रममा यो गर्छु, त्यो गर्छु भन्ने तर कार्यान्वयन हुँदैन’, उनले भने, ‘यसले आमलगानीकर्ता झनै मर्कामा परेका छन्।’ 

अर्का लगानीकर्ता उपेन्द्र पाठकले लगानीकर्ताहरुले अहिलेको पुँजीबजारमा देखिएको समस्या निराकरण गर्न सम्बन्धित निकायहरुलाई एकैठाउँमा ल्याएर वार्ता गर्नुपर्नेमा जोड। ‘अहिले पुँजीबजारमा देखिएका समस्याको निराकरण एउटा पक्षले मात्रै गर्न सक्दैन’, लगानीकर्ता उपेन्द्र पाठकले भने, ‘यसका लागि धितोपत्र बोर्ड, राष्ट्र बैंक र अर्थ मन्त्रालयलाई एकैठाउँमा ल्याएर वार्ता गरी समस्याको निराकरण निकाल्नुपर्छ।’

अहिले पुँजीबजारमा मात्रै समस्या नभएर अन्य व्यापार–व्यवसाय पनि कठिन अवस्थामा रहेको पाठकको भनाइ थियो। ‘यी ३ वटै निकायलाई एउटै टेबलमा ल्याएर वार्ता गर्न सक्यौँ भनेमात्र लगानी गर्ने वातावरण सिर्जना हुन्छ’, पाठकले भने, ‘होइन भने पैसा भए यहाँ किन लगानी गर्ने ?’

पुँजीबजारमा लगानी गर्ने वातावरण सिर्जना नीतिगत व्यवस्था नभएको खण्डमा थुप्रै पलायन हुने पनि पाठकले चेतावनी दिए। ‘त्यसैले पुँजीबजारमा लगानीकर्तालाई आकर्षित गर्ने काम नियामक निकायहरुले गर्नुपर्छ’, पाठकले भने। 

पुँजीबजार दबाब समूहका महासचिव नयन बास्तोला आन्दोलन गर्नुभन्दा सम्बन्धित निकायमा गएर बजार सुधारका लागि पहल गर्नुपर्ने बताए। ‘हामीले बजारमा माग सिर्जना गर्ने वातावरण बनाउन धितोपत्र बोर्डको ध्यानाकर्षण गराउनुपर्छ’, उनले भने, ‘त्यसपछि बजारमा अहिले देखिएका समस्या हल गर्न अर्थमन्त्रीलाई भेटौँ अनि प्रधानमन्त्रीलाई भेट्यौँ। अनिमात्रै हाम्रो आन्दोलन सफल हुन्छ।’

भेलाका संयोजक खरेलले आउँदा आइतबार धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई भेटेर लगानीकर्ताका माग र पुँजीबजारको पछिल्लो अवस्थाबारे जानकारी गराउने बताए। ‘त्यसपछि धितोपत्र बोर्डका अध्यक्षलाई पुँजीबजारमा देखिएका समस्या हल गर्न अर्थमन्त्री र गभर्नरलाई पहल गर्न आग्रह गर्छौं’, उनले भने।