काठमाण्डौ । संविधान दिवसको अवसर पारेर सरकारले भोलि बुधबार (असोज ३ गते)देखि सूर्यविनायक–रत्नपार्क सडकखण्डमा द्रुत बस सेवा सञ्चालन गर्ने भएको छ। 

द्रुत बस सेवा सञ्चालनमा छुट्टै लेनको व्यवस्था गरिने भएको छ। लेनका लागि आवश्यक भौतिक तयारी पूरा गरी मार्किङको काम भइरहेको सडक विभागले जनाएको छ। नेपाल पहिलोपटक यस्तो बस सेवा सञ्चालन गर्न लागिएको हो। 

यो सेवाअन्तर्गत २५ वटा ठूला बसको व्यवस्थापन गर्ने जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई दिइएको छ। दैनिक बिहान ९ बजेदेखि ११ बजे र साँझ ४ बजेदेखि ६ बजेसम्म द्रुत बससेवा सञ्चालन हुनेछ। यो समयबाहेक अहिलेजस्तै सबै प्रकारका सवारीसाधन ती लेनबाट पनि चल्न पाउनेछन्।

विभागका अनुसार द्रुत बस सेवा सञ्चालन हुने समयमा ती लेनबाट अन्य सवारीसाधन गुड्न नपाउने छैनन्। यसका लागि द्रुत बसहरु चल्ने लेनमा २००–२०० मिटरमा रेड मार्क गरिएको छ। 

ती बस एकै रङका, ४० सिट क्षमताका र द्रुतसेवा लेखेर सञ्चालन गरिनेछ। यो सेवा सञ्चालनका लागि ३ मिटरको डेडिकेटेड लेन नै छुट्याइएको छ।