काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा चलाइएको नकारात्मक कुचक्रलाई सुचक्रमा बद्ल्न निक्षेप तथा कर्जा सुरक्षण कोषले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन्। 

कोषको ५०औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले यस्तो धारणा राखेका हुन्। उनले भने, ‘यसका लागि निजी क्षेत्रले पनि सकारात्मक भाइभ फैलाउनुपर्छ।’ 

अर्थतन्त्रमा समस्या रहे पनि ती विस्तारै कम हुँदै गएको अर्थमन्त्री महतको भनाइ थियो। ‘समस्या सम्बोधनका लागि सरकारले फेसिलेट गर्ने काममा कमी हुन दिने छैन’, उनले भने, ‘सरकारले अप्ठ्यारा हटाउँदै जानेछ, कतिपय हटिसकेका छन् घटिसकेका छन्।’ 

‘पर्यटक आगमन बढिरहेको छ। विदेशी मुद्रा सञ्चिति, विप्रेषण प्रवाह बढिरहेको छ। अर्थतन्त्रमा रिर्सोस आइरहेको छ, तर चलायमान भएको छैन’, उनले भने, ‘हातमा परेको पैसा कहाँ के गर्ने भन्ने असुरक्षाका कुरा व्यापक प्रवाह भइरहेको छ। खत्तम छ अर्थतन्त्र, अहिले खर्च गर्न ठीक समय होइन, लगानी नगरौँ। बैंकहरुले लगानी नगरुन्, पैसा थुपारुन्, राखून भन्ने जुन नकरात्मक सर्कुलर छ, त्यसलाई हामीले अन्त्य गर्नुपर्छ।’ 

अब अर्थतन्त्रमा रिर्सोस रहेको र यो चलायमान हुँदा आर्थिक गतिविधि बढ्ने मन्त्री महतले बताए। ‘आर्थिक गतिविधि बढ्दा रोजगारी पनि बढ्छ। राजश्वमा परेको दबाब अन्त्य हुन्छ। राजश्वमा दबाब कम भयो भने अपेक्षाअनुसारको लगानी बढ्छ’, उनले भने। 

४ करोड १८ लाख निक्षेप खातामा रहेको १२ खर्ब ८८ अर्ब रकमको सुरक्षा प्रदान गरिरहेको र करिब १७ लाख ऋणीलाई कोषले सुरक्षा दिइरहेको मन्त्री महतले बताए। उनले भने, ‘यसको पहुँच विस्तार भइरहेको छ। साना उद्यमीदेखि आम निक्षेपकर्तालाई सुरक्षा प्रदान गरेको छ। लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण, कृषि कर्जा सुरक्षणजस्ता कर्जा सुरक्षणको बैंक तथा वित्तीय संस्थालाई दुरदराजमा रहेका निम्न वर्गको पहुँचमा यसले कार्य क्षेत्र विस्तार गरेको छ’, उनले भने। 

सरकारले विभिन्न समयमा ल्याएको कृषि अगुवा सूचना, वैदेशिक रोजगार, स्टार्टअप रोजगारजस्ता कार्यक्रमलाई यसले सेवा विस्तार गरेको मन्त्री महतले बताए। ‘जब हामी लगानी गछौँ, अवश्य पनि जोखिमपूर्ण हुन्छ। त्यो जोखिमलाई न्यून गर्ने विभिन्न तरिका त्यसमा कर्जा सुरक्षा कोषको भूमिका महत्वपूर्ण हुन्छ’, उनले भने, ‘साना उद्यमी व्यवसायीको जोखिम जति न्यून गर्न सकियो, त्यत्ति धेरै अर्थतन्त्र चलायमान हुन्छ, रोजगारी सिर्जना गर्छ।’

मन्त्री महतले साना–साना कर्जा प्रवाह हुँदा साना–साना उद्योग स्थापना हहुने बताए। ‘त्यसले ज्यादा रोजगारी सिर्जना हुन्छ। साना धेरै छरिएर रहेका व्यवसायले धेरै रोजगारी सिर्जना गर्छ’, उनले भने, ‘यो रोजगारी आमसर्वसाधारणले प्राप्त गर्छन्।’

‘यो परिवर्तनको समय हो, प्रविधिको नयाँ नयाँ विकास भइरहेको छ। डिजिटल एकाउन्टिङको हामीले कुरा गरिरहेका छौँ’, उनले भने, ‘आईटीमा जुन क्रान्ति आएको छ, त्यसले ट्रानजेक्सनको कस्ट घटाएको छ। यसलाई हामीले ग्रहण गर्न जरुरी छ। कर्जा सुरक्षण कोषले यो काममा अग्रणी भूमिका खेल्नेछ। यसले उच्च व्यावसायिकताका आधारमा काम गर्छ भन्ने सरकारले विश्वास लिएको छ। यसको सेवा विस्तार हुनुपर्यो।’