काठमाण्डौ । अन्तराष्ट्रिय मुद्रा कोष(आइएमएफ)ले नेपालको बाह्य स्थिति सुदृढ भएको भन्दै मौद्रिक नीति बनाउने र कार्यान्वयन गर्ने राष्ट्रबैंकको प्रशंसा गरेको छ । 

टिडियान किन्डाको नेतृत्वमा आईएमएफको टोलीले सेप्टेम्बर २१ देखि अक्टोबर ५ सम्म काठमाडौंको भ्रमण गरेको थियो । 

यो क्रममा टोलीले अर्थमन्त्री डा. प्रकाशशरण महत, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, सरकार तथा राष्ट्र बैंकका अन्य वरिष्ठ अधिकारी, विकास साझेदार तथा प्रतिनिधि तथा व्यापार र बैंकिङ समुदायसँग भेटघाट र छलफलहरु गरेको थियो । 

आइएमएफको विस्तारिक क्रेडिट सुविधा(इसीएफ)को कार्यान्वयन अवस्थाको विषयमा बुझ्न आएको टोली यो पटकको मिसनको अन्त्यमा जारी गरेको प्रेस नोटमा अर्थतन्त्रको बाह्य स्थिति सुदृढ भएकोमा प्रशंसा गरिएको हो । 

‘नेपालको बाह्य स्थिति सुदृढ भएको छ, विवेकपूर्ण वित्तीय र मौद्रिक नीतिहरूको कार्यान्वयनका कारण रेमिट्यान्स राम्रो भएको छ । क्षेत्रीय खाद्य मूल्यमा वृद्धि भए पनि पर्यटन महामारी पछि पुनः लयमा फर्किएको छ । यद्यपि, घरेलु मोर्चामा, गत वर्षको आयात प्रतिबन्ध र भूमि बजार र निर्माण इजाजतपत्रमा नियामक अनिश्चितता, कम ऋण प्रवाह, र ठूलो कोभिड पछि बसाइको सन्दर्भमा कमजोर घरेलु माग झल्काउँदै आर्थिक वर्ष २०२२-२३ मा वृद्धि सुस्त भएको अनुमान गरिएको छ।’

आइएमएफले राजश्वमा कमी आएका कारण आर्थिक वर्ष २०२२-२३ को वित्तीय घाटा बढेको दाबी गरेको छ । 

उसले आर्थिक वर्ष २०२३-२४ मा नेपालको वृद्धि दर ३.५ प्रतिशतमा पुग्ने प्रक्षेपण गरेको छ । तर, कमजोर आन्तरिक मागमा सुधार नहुने हो भने योभन्दा पनि कम वृद्धिदर हुनसक्ने चिन्ता व्यक्त गरिएको छ । 

उसले घरजग्गा बजारमा आएको सुस्तताले मौद्रिक नीति खुकुलो भए पनि कर्जा वृद्धिलाई सीमित गरिरहेको टिप्पणी गरेको छ । 

मुद्रा स्फिति अगस्टमा ७.५ प्रतिशतको उच्च विन्दूमा पुगेको र यो घट्ने अपेक्षा गरिएको बताइएको छ । ‘पूर्वाधार, विशेषगरी ऊर्जा क्षेत्रमा रणनीतिक लगानीले सम्भावित बृद्धिलाई समर्थन गर्ने अपेक्षा गरिएकाले नेपालको मध्यमकालीन दृष्टिकोण अनुकूल छ।’ प्रेस नोटमा भनिएको छ।