– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । दसैँअगाडि काठमाण्डौको एउटा पार्टी प्यालेसमा एकता गरेका नयाँ र पुराना ब्रोकर बिहीबार एक भएर अर्थमन्त्री डा प्रकाशशरण महतलाई भेटेका छन्। 

स्टक ब्रोकर्स एसोसियसन अफ नेपाल र धितोपत्र ब्रोकर एसोसिएसनको संयुक्त टोलीले आज अर्थमन्त्री महतलाई भेटेको हो। अर्थमन्त्री महतसँग भएको भेटमा ब्रोकरहरुले अहिले लिँदै आएको कमिसनलगायतका विषयमा छलफल गरेका थिए। ‘हाम्रो एउटा माग कमिसन घटाउने विषय समय सान्दर्भिक भएन भन्ने हो’, स्टक ब्रोकर्स एसोसियसनका अध्यक्ष धर्मराज थापाले भने, ‘नयाँ ब्रोकर आएका छन्। यसको प्रभाव कस्तो पर्छ भन्ने राम्रोसँग अध्ययन नै नगरी कमिसन घटाउने विषय त्यति समय सान्दर्भिक भएन भन्ने हो। यस विषयबारे हामीले अर्थमन्त्रीलाई अवगत गराएका छौँ।’

‘हामीलाई किनबेचबाहेकका काम गर्न पनि दिइएको छैन’, सापकोटाले भने, ‘मर्चेन्ट बैंकहरुले ५ करोडको पुँजीमा नै पोर्टफोलियो व्यवस्थापनको काम गरेका छन्। हाम्रो २० करोडको पुँजी हुँदा पनि हामीलाई काम गर्न रोक लगाइएको छ।’

संसारमा पोर्टफोलियो व्यवस्थापनदेखि अन्य सबै काम ब्रोकरले नै गर्ने गरेको सापकोटाले बताए। ‘तर, यहाँ ब्रोकरलाई सीमित दायराभित्र राख्ने काम भएको छ’, उनले भने, ‘यिनै विषयमा हामीले आफ्ना कुरा अर्थमन्त्रीसमक्ष राखेका छौँ।’ 

नयाँ ब्रोकर कम्पनी सन सेक्युरिटिज (स्टक ब्रोकर नं.६४)का सञ्चालक कृष्ण गिरीले अर्थमन्त्रीसमक्ष ब्रोकरको कार्यक्षेत्र विस्तार, पुँजीगत लाभकर घटाउने, नयाँ प्रडक्ट ल्याउने, मार्जिन कारोबार, पोर्टफोलियो व्यवस्थापनजस्तो विषयमा छलफल भएको बताए। उनले भने, ‘ब्रोकरको कार्य क्षेत्र विस्तार गरेरमात्रै ब्रोकर कमिसन वैज्ञानिक ढंगले समयअनुकूल बनाउनुपर्छ भन्ने सुझाव दिएका छौँ।’ 

यसका अतिरिक्त धितोपत्र बोर्डमा नयाँ अध्यक्ष आउँदैपिच्छे ब्रोकर कमिसन घटाउनु पनि अनुपयुक्त रहेको ब्रोकरहरुले अर्थमन्त्रीलाई अवगत गराएका छन्।

अर्थमन्त्री महतलाई भेट्न स्टक ब्रोकर्स एसोसियसन अफ नेपालका महासचिव फणिन्द्र ढकाल, धितोपत्र ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकाललगायत पुगेका थिए।