काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले भूकम्पपीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न गरेको प्रतिबद्धताबमोजिम कर्णाली प्रदेश सरकारलाई रु. ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ।

कात्तिक १७ गतेको विनाशकारी भूकम्पपश्चात एक जिम्मेवार अत्यावश्यक सेवा प्रदायकका रुपमा ग्राहकलाई आफ्ना प्रियजनसँग सम्पर्कमा रहन र सोही क्षेत्रमा राहत तथा उद्धारकार्यलाई सहयोग पुर्याउन प्रभावित जिल्ला जाजरकोट, रुकुम (पश्चिम) र रुकुम (पूर्व)मा रहेका ग्राहकलाई रु. ४० लाख ब्यालेन्सबराबरको सेवाहरु निःशुल्क उपलब्ध गराएको थियो। 

एनसेलले बिहीबार आफ्नो प्रतिबद्घताअनुरुप कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यलय सुर्खेत पुगेर रु. ५० लाखको चेक हस्तान्तरण गरेको छ। चेक एनसेलका तर्फबाट एनसेलका चिफ रेगुलेटरी एन्ड लिगल अफिसर, विशाल उपाध्यायले कर्णाली प्रदेश सरकारको उद्योग, वन तथा पर्यटनमन्त्री कृष्णबहादुर बीसीलाई एक कार्यक्रममाझ हस्तान्तरण गरेका थिए। 

‘विपद्को यस घडीमा कर्णालीलाई सम्झिनुभएकोमा धन्यवाद। यस किसिमको संकटका बेलामा एनसेलले सरकारलाई विगतमा पनि सहयोग गर्दै आएको कुरा हामीलाई अवगत छ र उद्धार, राहत तथा पुर्नस्थापनामा ठूलो रकम लाग्ने भएकाले यस किसिमको सहयोगले सरकारलाई ठूलो अर्थ राख्दछ’, वन तथा पर्यटनमन्त्री कृष्ण बीसीले भने। 

कर्णाली प्रदेशमा विपद् प्रतिकार्यहरुमा आफ्ना तर्फबाट एनसेलले कसरी सहगोग पुर्याउन सक्छ भन्नेबारेमा सम्बन्धित अधिकारीहरुसँग एनसेलले छलफल जारी राखेको छ र भूकम्प प्रभावितहरुलाई आवश्यक सहयोग प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको एनसेलले जनाएको छ। ‘यस प्रकारको कठिन समयमा प्रदेश सरकारसँग समन्वय गरी काम गर्दा स्थानीय समुदायमा पुग्न र उनीहरुलाई छिट्टै सहयोग प्रदान गर्न मद्दत पुग्ने कुरामा हामी विश्वास राख्दछौँ’, एनसेलका चिफ रेगुलेटरी एन्ड लिगल अफिसर विशाल उपाध्यायले भने। 

एनसेलको यो सहयोगका लागि धन्यवाद दिँदै कर्णाली प्रदेश सरकारका कामु मुख्य सचिव चूडामणि पौडेलले भने, ‘कर्णालीका भूकम्पपीडित जनतालाई सहयोग लिएर सुर्खेतमा आउनुभएकोमा कर्णाली प्रदेश सरकार र मुख्यमन्त्रीका तर्फबाट म सम्पूर्ण एनसेल परिवारलाई धन्यवाद ज्ञापन गर्दछु।’

यस सहयोगसँगै भूकम्पपीडितको सहयोगमा एनसेलको सहयोग भन्डै रु १ करोड पुगेको छ। विनाशकारी भूकम्पबाट ज्यान गुमाउनेहरुप्रति एनसेलले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। यस दुःखद् घडीमा एनसेल भूकम्प प्रभावित जिल्लाका जनताहरुका साथ रहेको कम्पनीले जनाएको छ।