 
                     
                                
                             
                                    काठमाण्डौ । सर्वोत्तम सिमेन्टले देशमै पहिलोपटक बुक विल्डिङ विधिमार्फत साधारण सेयरको प्राथमिक निश्कासन गर्दैछ ।
सर्वोत्तमले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई आज(मंसिर ६ गते) देखि आईपीओको बोलकबोल खुला गरेको हो ।
मंसिर १० गतेसम्म बोलकबोल पेश गर्न सकिने समय तोकिएको छ ।
कम्पनीले ६० करोड रुपैयाँको ६० लाख कित्ता सेयर निष्कासन गर्न लागेकोमा पहिलो चरणमा संस्थागत लगानीकर्तालाई ४० प्रतिशत अर्थात २४ लाख कित्ता सेयरको बोलकबोल खुल्ला गरेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।
बोलकबोलका लागि सुरुमा ५०१ रुपैयाँदेखि ७५१.५० रुपैयाँसम्म बिक्री मूल्य तोकिएकामा उक्त मूल्य परिमार्जन भएर प्रतिकित्ता ४०१ रुपैयाँदेखि ६०१.५० रुपैयाँसम्म कायम गरिएको छ ।
मंसिर ११ गते संस्थागत लगानीकर्ताहरुलाई निष्कासित सेयरको प्राप्त बोलकबोलको ‘कट अफ प्राइस’ मूल्य निकालिनेछ । कट अफ प्राइस वा सोभन्दा बढी मूल्यमा बोलकबोल गर्ने आवेदकलाई माग बमोजिमको धितोपत्र सेयर बाँडफाँट गरिने व्यवस्था छ ।
संस्थागत लगानीकर्तामार्फत यसरी निर्धारण भएको कटअफ प्राइसमा १० प्रतिशत छुट दिई कम्पनीले बाँकी ६० प्रतिशत सेयर सर्वसाधारणलाई धितोपत्र निष्काशन गर्नेछ ।
वित्तीय अवस्था र प्रक्षेपण
आर्थिक वर्ष २०७९-८० को असारसम्मको वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी पाँच रुपैयाँ १३ पैसा र नेटवर्थ १ सय ८५ रुपैयाँ १९ पैसा रहेको छ । साधारण लगानी फिर्ता हुने अवधि (क्यास ब्याक पिरियड) ३ वर्ष ९ महिना तथा डिस्काउन्टेड क्यास ब्याक पिरियड ४ वर्ष ७ महिना रहेको छ।
कम्पनीले प्रकाशन गरेको आह्वानपत्रमा आर्थिक वर्ष २०८०–८१ देखि २०८२–८३ सम्म हरेक वर्ष लगानीकर्तालाई २० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्ने प्रक्षेपण गरिएको छ ।
आर्थिक वर्ष २०८०–८१ मा २० प्रतिशत, २०८१–२१ मा २५ र २०८२–८३ मा ३० प्रतिशत लाभांश वितरण गर्न सकिने प्रक्षेपण गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०८०–८१ मा ९३ करोड रुपैयाँ नाफा कमाउन सकिने जनाएको छ । सो रकमबाट १७.८२ प्रतिशतसम्म मात्र लाभांश वितरण मिल्छ । यस्तै, २०८१–८२ का लागि प्रक्षेपित मुनाफाबाट २२.११ र २०८२–८३ बाट २५.४९ प्रतिशतसम्म मात्र लाभांश सकिने देखिन्छ । प्रक्षेपित मुनाफाभन्दा बढी नै लाभांश प्रक्षेपण गरिएका कारण कम्पनीले आइपीओ जारी गर्दा उठेको प्रिमियमबाट केही रकम ३ वर्षसम्म लगानीकर्तालाई लाभांशको रुपमा वितरण गर्नसक्ने बलियो सम्भावना देखिन्छ ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19