काठमाण्डौ । चौधरी ग्रूप अन्तर्गत सिजी मोटर्सले बिक्री वितरण गर्दै आइरहेको किङ्लङ विद्युतीय माइक्रो बसहरू काठमाण्डौका विभिन्न रुटहरूमा सञ्चालनमा आएका छन् ।

सञ्चालनमा आएका माइक्रो बसहरू बागमती प्रदेश सरकारको नीति तथा महानगरपालिकाको अवधारणा अनुसार पुराना डिजेल र ग्यासबाट चल्ने सार्वजनिक यातायातलाई विस्थापित गरेर नयाँ विद्युतीय सार्वजनिक यातायात चलाउने विधि अन्तर्गत पर्छ ।

एउटा डिजेल माइक्रो बस दैनिक १५०- २०० किमि चल्दा ५ हजारदेखि ७ हजार रुपैयाँसम्मको डिजेल खपत हुने देखिन्छ । सो हिसाबले काठमाण्डौमा सञ्चालनमा रहेका ३ हजार वटा डिजेल माइक्रोबस विस्थापित हुँदा दैनिक २ करोड १० लाख डिजेलको बचत हुन सक्ने बताइएको छ ।

किङ्लङ माइक्रो बस १४ र १९ सिटर गरी दुई मोडेलमा नेपाली बजारमा उपलब्ध छन् । विश्वको नम्बर १ ब्याट्री निर्माण कम्पनी सिएटिलद्वारा निर्मित ब्याट्रीको प्रयोग भएको गाडीमा एक पटक फुल चार्ज गर्दा ३०० किमि चल्ने कम्पनीले बताएको छ ।

१८० मिमी ग्राउन्ड क्लियरेन्स भएको गाडी नेपालको बाटो र माटो सुहाउँदो रहेको पनि कम्पनीले बताएको छ । हरेक ५ वटा गाडीमा एउटा फास्ट चार्जर दिँदै आएको जानकारी दिँदै कम्पनीले नेपालभर ३० स्थानभन्दा धेरै ठाउँमा चार्जर स्थापना भैसकेको र थप ५० भन्दा धेरै ठाउँमा चार्जर जडान गर्ने लक्ष्य लिएको जनाएको छ ।

काठमाण्डौमा तीन वटा ठाउँबाट सर्भिस सुविधा लिन सकिने कम्पनीले जनाएको छ । साथै रिङरोड क्षेत्रमा हरेक ५ किमिमा एउटा चार्जर राख्ने अन्तिम तयारी भइरहेको पनि कम्पनीले बताएको छ । 

८० प्रतिशतसम्म कर्जा सुविधा रहेको र नेपालभरका सम्पूर्ण बैंकहरुबाट सुलभ कर्जा सुविधा लिन सकिने कम्पनीले उल्लेख गरेको छ ।