काठमाण्डौ । नेपाल बैंकले भूकम्प पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

नेपाल बैंक लिमिटेड, सञ्चालक समितिका अध्यक्ष डा चन्द्रबहादुर अधिकारीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, बालुवाटारमा सोमबार आयोजित एक कार्यक्रममा ५० लाख रुपैयाँ बराबरकोे चेक प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेका हुन् । 

भूकम्पबाट प्रभावित समुदायलाई आर्थिक सहयोग उपलब्ध गराई बैंकको तर्फबाट सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा नेपाल बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट उक्त रकम सहयोग गरेको बताएको छ ।

कार्यक्रममा बैंकको सञ्चालक समितिका अध्यक्ष अधिकारीले बैंकले दैवी तथा प्राकृतिक प्रकोप, महामारीको रोकथाम तथा नियन्त्रण लगायत विभिन्न विपत्को समयमा आर्थिक सहयोग प्रदान गर्दै आएको बताए ।

कार्यक्रममा सञ्चालक समिति सदस्य विवेक शम्शेर जबरा, कामु प्रमुख कार्यकारी अधिकृत समता पन्त, बैंकका कम्पनी सचिव केशव प्रसाद भण्डारी तथा बरिष्ठ प्रबन्धक विश्वराज भण्डारी समेतको उपस्थिति थियो ।